तपाईँ सुन्दै हुनुहुन्छः

शैक्षिक सुधार योजना निर्माणका लागि अन्तरक्रिया गर्दै रिड नेपाल

सोलुखुम्बु । सोलुखुम्बुमा शैक्षिक सुधार तथा गुणस्तरीय शिक्षाको क्षेत्रमा दशकदेखि काम गर्दै आइरहेको गैरसरकारी संस्था रिड नेपालले जिल्लाका विभिन्न विद्यालयमा विद्यालय सुधार योजना निर्माण सम्बन्धी अन्तरक्रिया गरिरहेको छ । स्थानीय तहको समन्वयमा कार्यक्षेत्र बनाएर काम गरेका विद्यालयमा अन्तरक्रिया गरिरहेको हो ।

सोलुदूधकुण्ड नगरपालिकाको जनजागृति आधारभूत विद्यालय सल्लेरी, महाकुलुङ गाउँपालिकाको जनसुधार आधारभूत विद्यालय र नेचासल्यानको तीनकन्या आधारभूत विद्यालयमा अन्तरक्रिया गरेको हो । विद्यालयले वार्षिक रुपमा निर्माण गर्नुपर्ने विद्यालय सुधार योजनामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको विषयलाई पनि समेटेर निर्माण गर्नुपर्ने कुरालाई जोड दिएको रिड नेपाल सोलुखुम्बुका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिनुभयो ।

सोलुदूधकुण्ड नगरपालिका, थुलुङ दूधकोशी गाउँपालिका, नेचासल्यान गाउँपालिका, माप्यदुधकोशी गाउँपालिका, सोताङ गाउँपालिका, महाकुलुङ गाउँपालिका र लिखुपिके गाउँपालिकाका एक सय विद्यालयमा यो कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको रिड नेपालले जनाएको छ । ४० वटा विद्यालयमा यस अघि नै कार्यक्रम सम्पन्न गरिसकेको छ भने अन्य विद्यालयहरूमा निरन्तरता दिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button