तपाईँ सुन्दै हुनुहुन्छः

दैवी प्रकोपका विषयमा भोजपुरमा नमुना अभ्यास 

भोजपुर । भोजपुर सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा दैवी प्रकोपका घटनाहरूमा बच्ने उपाय, उद्धार, राहत र प्राथमिक उपचारका विषयमा जनचेतना फैलाउने उद्देश्यले जिल्ला दैवी प्रकोप उद्धार समितिको निर्णय अनुसार नमुना अभ्यास गरिएको छ । 

उक्त अभ्यास कार्यक्रममा पीडितलाई तत्काल गरिने उद्धार र राहत वितरणको अभ्यास समेत गराइएको थियो । 

भोजपुरका प्रमुख जिल्ला अधिकारी बासु प्रसाद कोइरालाले बर्सेनी बाढी पहिरो, चट्याङ, आगलागी, दुर्घटना र महामारी लगायतका विपत्ति तथा प्रकोपले पुर्‍याउने जनधनको क्षति न्यूनीकरण गर्न उद्धार टोलीले गर्नुपर्ने कार्य र तयारीबारे प्रदर्शनी गरिएको बताउनुभयो । 

अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पहिरोबाट प्रभावितको उद्धार सम्बन्धी अभ्यास गरेका थिए ।

भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले आगलागी, बाढी पहिरो लगायतका बिपत्तका समयमा अपनाउनुपर्ने सजगता र विपत्ति आउँदा उद्धार, प्राथमिक उपचार र अस्पतालसम्म पुर्‍याउने विधि बारेमा गरिएको नमुना अभ्यास प्रभावकारी हुने बताउनुभयो । 

भोजपुरको स्थानीय टुँडिखेलमा कृत्रिम पहिरो र आगलागी हुन सक्ने बस्ती बनाएर स्थानीय, विद्यालयमा अध्ययनरत विद्यार्थी, रेडक्रस, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि लगायतको सहभागितामा अभ्यास गरिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button