तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारमैत्री बन्ने रुपन्देहीका जनप्रतिनिधिको प्रतिबद्धता

रुपन्देही । रुपन्देहीका जनप्रतिनिधिले सञ्चारमैत्री भएर सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीले आज बुटवलमा आयोजना गरेको नवनिर्वाचित पालिका प्रमुखसँग सञ्चार र स्थानीय तहको अन्तरसम्बन्ध विषयक अन्तर संवाद कार्यक्रममा जनप्रतिनिधिले सञ्चार संस्थासँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले सञ्चार माध्यम र पत्रकारसँग आवश्यक समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । नगर प्रमुख पाण्डेले आफू निर्वाचित भएसँगै पहिलो बैठकबाट नै बुटवलको चौराहा–चिडिया खोला सडक मर्मतको काम सुरु गरेको उल्लेख गर्दै वर्षाको समय आउन लागेकाले यसको जोखिम व्यवस्थापनको काममा लागेको बताउनुभयो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले स्थानीय तहको निर्वाचनलाई मर्यादित बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले राम्रो कामको प्रशंसा गर्न र गलत गर्दा खबरदारी गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले सञ्चारकर्मीलाई स्थानीय तह र जनप्रतिनिधिलाई आवश्यक स्थान दिन आग्रह गर्नुभयो । उहाँले पालिकालाई मिडियामैत्री बनाउने प्रतिबद्धता जनाउँदै समय समयमा सुझाव दिन समेत आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्व जिल्ला अध्यक्ष द्वय डा. बालकृष्ण चापागाईँ र विनोद पहाडीले निर्वाचनमा फरक फरक पार्टीबाट जिते पनि सबैलाई समेटेर काम गर्न सुझाव दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button