तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशसभा: सरकारको नीति, कार्यक्रममाथि छलफल सुरु

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।

file photo

छलफलमा भाग लिने सदस्यहरूले प्रस्तुत गरिएको नीति तथा कार्यक्रम अनुसारको बजेट विनियोजन गरेर कार्यान्वयनको पाटोलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले आफ्नो उपस्थिति देखिने गरी नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, विनियोजन हुने बजेटलाई उत्पादनशील, सन्तुलित र न्यायोचित कसरी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिन जरुरी रहेको उहाँहरूले सुझाव दिनुभयो । आजको छलफलमा तारा लामा तामाङ, भरतबहादुर खड्का र सुशीला बुढाथोकीले भाग लिनुभएको थियो ।

यसअघि मुख्यमन्त्री त्रिलोचन भट्टले टेबुल गर्नुभएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि सभामा छलफल गरियोस् भन्ने प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको थियो । सुदूरपश्चिमको प्रदेशसभा नियमावली २०७४, प्रथम संशोधन २०७६ सहितलाई संशोधन गर्नका लागि नियमावली संशोधन मस्यौदा समितिमा प्रदेशसभा सदस्य वीरमान चौधरी, तारा लामा तामाङ, अम्बिकुमारी थापा, बलदेव रेग्मी र मालामती रानाथारू सदस्य रहने गरी प्रस्तुत नियमावली संशोधनसम्बन्धी प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button