विश्व वातावरण दिवस : पर्यटकीय स्थल सफाइदेखि नाटक प्रदर्शन र वृक्षारोपणसम्म

जुम्ला । विश्व वातावरण दिवस जुम्लामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
जिल्लाका आठ स्थानीय तह र विषयगत कार्यालयहरूले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएका हुन् ।
दिवसका अवसरमा जुम्लाको तातोपानी गाउँपालिकाले पर्यटकीय स्थल तातोपानी धाराको सरसफाइ गरेको छ ।
गाउँपालिका र किर्डाक नेपालको साझेदारीमा स्वच्छ वातावरण स्वच्छ जीवन भन्ने मूल नाराका साथ पर्यटकीय स्थल तातोपानी धाराको सरसफाइ गरिएको हो ।
जुम्लाकै परिचित पर्यटकीय स्थल तातोपानी धाराको सरसफाइ बिना प्रदूषण नियन्त्रण र स्वच्छ वातावरण सम्भव नभएकोले पालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीयको सहभागितामा धारा सरसफाइ गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौंलागाईले बताउनुभयो ।
पर्यटक आगमनलाई बढाउन र वातावरण प्रदूषण हुनबाट जोगाउन तातोपानी धारामा सरसफाइ अभियानले निरन्तरता पाउने तातोपानी–२ का अध्यक्ष चन्द्रमान बुढाले जानकारी दिनुभयो ।
साथै दिवसका अवसरमा भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको सहयोगमा कर्णाली कला केन्द्रले वातावरण संरक्षण सम्बन्धी सडक नाटक प्रदर्शन गरेको छ ।
सरसफाइ व्यवस्थापन, वृक्षारोपण, वन संरक्षण र डोजर विकासको अन्त्य सम्बन्धी जनचेतना मूलक सडक नाटक प्रस्तुत गरिएको भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शिखर चपाँईले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश जङ्ग खत्रीका अनुसार वातावरण दिवसका अवसरमा जिल्लाको पूर्वमा पर्ने पातारासी गाउँपालिकामा देउडा गीत प्रतियोगिता गरिएको छ । गीतबाटै वातावरण संरक्षणको सन्देश दिँदै देउडा प्रतियोगिताको आयोजना गरिएको थियो ।
उता तिला गाउँपालिकाले पनि वृक्षारोपण लगायतका कार्यक्रम गरी दिवस मनाएको छ ।
त्यस्तै, चन्दननाथ नगरपालिका वडा नं. २ र ३ स्थित ढाणथपला युवा क्लबको आयोजनामा पर्यटकीय स्थल धिमीचौरको सरसफाइ गरिएको २ नम्बर वडाध्यक्ष हेम बुढ्थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार धिमीचौरमा पछिल्लो समय पर्यटकको चाप बढेसँगै फोहोर पनि बढेको थियो । त्यसैले युवा क्लबको सक्रियतामा फोहोर सङ्कलन गरिएको वडाध्यक्ष उहाँको भनाई छ ।
त्यस्तै, एस.एन.भी नेपाल र मित्र समाजको साझेदारीमा दिवसका अवसरमा चन्दननाथ नगरपालिकामा वातावरण संरक्षण सम्बन्धी सन्देश प्रसारण तथा स्थानीयलाई फूलका बिरुवा वितरण गरिएको छ ।
त्यस्तै, पेश नेपाल जुम्लाले पनि दिवसमा अवसरमा वृक्षारोपण गरेको छ ।

त्यसैगरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यायरत विद्यार्थीहरूले पनि वातावरण संरक्षण गरौँ, रुख बिरुवा जथाभाबी नकाटौँ भन्दै बजारमा र्याली प्रदर्शन गरेका थिए ।
वातावरण संरक्षणका लागि डोजरे विकासको अन्त्य र वातावरणीय प्रभाव मूल्याङ्कनको नीति निर्माण र कार्यान्वयनका जोड दिई वातावरणमैत्री विकासमा गर्न नागरिक अगुवाले स्थानीय तहलाई सुझाव दिएका छन् ।







प्रतिक्रिया राख्नुहोस्