तपाईँ सुन्दै हुनुहुन्छः

विश्व वातावरण दिवसमा विद्यार्थीद्वारा सरसफाई  

चितवन । विश्व वातावरण दिवसको अवसर आज विद्यार्थीहरूले प्रभातफेरि एवं सरसफाइ गरेका छन् । भरतपुर–१६ स्थित नारायणी विद्यामन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आज बिहान प्रभातफेरि एवं विद्यालय वरपरको क्षेत्रमा सरसफाइ गरेका हुन् । 

वातावरण र संरक्षणसँग सम्बन्धित प्लेकार्ड र ब्यानर बोकेका विद्यार्थीहरूले शिवघाट परिक्रमा गरेका हुन् । उनीहरूले शिवघाट क्षेत्रको सडक किनारमा फालिएका प्लास्टिकजन्य फोहोरहरू समेत सङ्कलन गरेका छन् । प्लास्टिकजन्य फोहोरका कारण वातावरणमा नकारात्मक प्रभाव पारेको भन्दै विद्यार्थीहरूले सचेतनामूलक प्रभातफेरि एवं सरसफाइ कार्यक्रम गरेको बताए । 

विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष थानेश्वर गौतमले विद्यार्थीहरूलाई संरक्षण शिक्षा दिन सकेको खण्डमा समाज र देश परिवर्तन हुने भएकाले विश्व वातावरण दिवसको दिन समुदायमा समेत सरसफाइ गरिएको बताउनुभयो । विद्यार्थीहरूलाई पढाइको अतिरिक्त वन जङ्गल संरक्षण, नदीनालाको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने शिक्षा दिनुपर्ने समेत गौतमले बताउनुभयो । सामुदायिक सरसफाइ कार्यक्रम विश्व वातावरण दिवसको दिनमा मात्रै सीमित नभई यसलाई नियमित कार्यक्रम बनाउँदै निरन्तरता दिने समेत उहाँको भनाइ छ ।  

यसैबीच, नारायणी विद्यामन्दिर माध्यमिक विद्यालयले विश्व वातावरण दिवसकै अवसर पारेर भरतपुर–१६ का नवनिर्वाचित जनप्रतिनिधि तथा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका शैक्षिक संयोजक बलराम गौतमले हरितगृह प्रभावका कारण पृथ्वीको वातावरण बिग्रिँदै गएको बताउनुभयो । पृथ्वीको संरक्षणका लागि समुदाय स्तरबाट सबै जना एकजुट भएर लाग्नुपर्नेमा गौतमले जोड दिनुभयो । 

सो कार्यक्रममा भरतपुर–१६ का वडाध्यक्ष अमृतराज हमालले आफू निर्वाचित भएर आएपछि आफ्नो वडालाई हरियाली वडा बनाउनका लागि सधैँ तत्पर भएर लागिपरेको बताउनुभयो । टोलमा वृक्षारोपण अभियान सुरु भएको उल्लेख गर्दै हमालले सो अभियानलाई वडाभर सञ्चालन गरिने बताउनुभयो । दिवसको दिनमात्रै नभएर सधैँभरि वातावरणलाई स्वच्छ र सफा राख्नका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको हमालको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button