तपाईँ सुन्दै हुनुहुन्छः

तालिमप्राप्त कुकुरसहित सिआईबीको टोली अछाममा

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत भेटिएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित डिएसपीको नेतृत्वमा सीआईबीको टोली परिचालन गरिएको छ ।

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेका डिएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको ६ सदस्यीय टोली अछाम आएको अछामका डिएसपी रविराज थपलियाले बताउनुभयो ।

शनिबार साँझ धनगढीबाट आएको सीआईबीको टोली आज आइतबार अछाम पुगेको हो । टोलीमा नेपाल प्रहरीको सुदूरपश्चिम अनुसन्धान समूह (आरआईटी) का सदस्यहरु समेत छन् । शाहीको शव भेटिएपछि आक्रोशित स्थानीयले पनि सीआईबीको टोलीलाई अनुसन्धानमा सघाउने भएका छन् ।

मृतक किशोर विनोद शाही

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले अनुसन्धानका लागि सीआईबीको टोली तालिम प्राप्त कुकुरसहित खटिएपछि आन्दोलित भएका स्थानीयले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताउनुभयो ।

घटनाको अनुसन्धानका लागि सीआईबीका अतिरिक्त छिमेकी बाजुरा र डोटी जिल्ला तथा अछामको सिङ्गो प्रहरी टोली खटिएको छ ।

जेठ १७ गतेदेखि बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाही शनिबार गाउँ नजिकै भीरमा  मृत अवस्थामा फेला परेका थिए । १७ गते राती नै युवकको हत्या गरी घरमा लुकाएर पछि भीरमा फ्याँकिएको मृतकका आफन्तको दाबी छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिका–४ मा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करिब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ ।

शाही नेकपा एमाले समर्थक परिवारको सदस्य भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button