तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार महासङ्घको भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

भक्तपुर । भक्तपुरका नवनिर्वाचित नगर प्रमुखहरूले नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ  । 

स्थानीय सरकार पत्रकारमैत्री भएको जिकिर गर्नुहुँदै उहाँहरूले पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको जिल्ला शाखालाई आफ्नै भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

शनिवार नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरको आयोजनामा सम्पन्न नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखमा बधाई, शुभकामना र साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै सूर्य विनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुर थिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठ र सूर्यविनायककी उपप्रमुख सरिता तिम्सिना भट्टराइले भक्तपुरमा पत्रकारिताको विकासको लागि महासङ्घसँग सहकार्य गर्ने बताउँदै महासङ्घको आफ्नै भवन बनाउने अभियानमा आफूहरूले सक्दो सहयोग गर्ने बचन दिनुभएको छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव रोशन पुरीले संविधान विपरीत सङ्घीय, प्रदेश र स्थानीय सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप गरे कदापि मान्य नहुने बताउनुभयो ।

“सङ्घीय, प्रदेश र स्थानीय सरकारले सञ्चार कानुन ल्याउँछौँ र पत्रकारलाई ठेगान लगाउँछौँ भनेर भनिरहेको छ, केही स्थानीय तहले त्यस्तो बिरोधाभाषपूर्ण कानुन ल्याउने काम पनि गरेको पाइएको छ”, महासचिव पुरीले भन्नुभयो, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानले दिएको अधिकार कुण्ठित पार्ने गरी सञ्चार कानुन ल्याएमा महासङ्घ त्यसका विरुद्ध आन्दोलनमा उत्रिन्छ ।”

पत्रकारितामा केही विकृतहरू भए त्यसलाई सच्याएर जाने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा सूर्य विनायक नगरपालिकाका प्रमुख थापाले जुनसुकै पार्टीबाट निर्वाचन जिते पनि स्थानीय सरकार विभेदरहित रुपमा जनताप्रति उत्तरदायी हुनु पर्ने बताउनुभयो । 

उहाँले पत्रकारले कसैलाई हतोत्साहित पार्ने नभई खबरदारी गर्नु पर्ने र सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले आफ्नै नगरपालिका क्षेत्रमा बन्ने महासङ्घको भवन निर्माणमा पैसाको कमी हुन नदिने बताउँदै भक्तपुर नगर बाहेकका तीनै वटै नगरपालिकाले महासङ्घको भवन बनाउन सक्दो सहयोग गर्ने उल्लेख गर्नुभयो । 

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिलाई देशकै नमुना नगरपालिका बनाउने जिम्मेवारी आफूमा आएको बताउँदै त्यसलाई सफल पार्न पत्रकारहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।

सम्पदाको संरक्षण, फोहोर मैलाको दीर्घकालीन व्यवस्थापन, युवा रोजगारी, शिक्षामा गुणस्तरीय परिवर्तन र युवा रोजगारीलाई मध्यपुरले मुख्य आधार बनाएर अगाडि बढेको भन्दै उहाँले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्तरोन्नतिमा विशेष कार्य गर्ने बताउनुभयो ।

त्यस अवसरमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जनप्रतिनिधिलाई खबरदारी गर्ने, सत्य, तथ्यमा आधारित रहेर पत्रकारले भूमिका निर्वाह गर्नु पर्ने आवश्यकता रहेको औँल्याउनुभयो । समाज रूपान्तरणसँगै समृद्ध नगर सुखी नगरवासी बनाउने आफ्नो अभियानमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहन्छ भन्दै नागरिकमुखी, लोकतन्त्रमुखी व्यवस्थाका लागि आफू लाग्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा महासङ्घका केन्द्रीय सचिव नारायण सुन्दर किलम्बुले भक्तपुरको पत्रकारिता र महासङ्घको अवस्थाबारे प्रकाश पार्नुभयो  भने उपत्यका प्रदेश अध्यक्ष श्रीजन झाले पत्रकार महासङ्घ पत्रकारहरूको साझा छाता सङ्गठन भएकोले यसलाई विभेदको आखाँले नहेर्न आग्रह गर्दै भक्तपुर नगरपालिकाले महासङ्घको अस्तित्व अस्वीकार गरेकोप्रति आलोचना गर्नुभयो ।

भक्तपुर शाखाका कार्यवाहक अध्यक्ष सुन्दर सिल्पकारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव संजीप घिमिरे शुभचिन्तक र उपाध्यक्ष लिला श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button