तपाईँ सुन्दै हुनुहुन्छः

एक महिनापछि मधेस प्रदेशमा दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि

जनकपुरधाम ।  मधेस प्रदेशमा करिब १ महिनापछि दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । 

वैशाख २० गते मधेस प्रदेशको ८ वटै जिल्ला कोरोना सङ्क्रमणमुक्त भएकोमा करिब १ महिनापछि धनुषा तथा रौतहट जिल्लामा गरेर दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 

कोरोना सङ्क्रमणमुक्त भए पनि प्रदेश भरिका प्रयोगशालामा शङ्कास्पद व्यक्तिको नियमित रुपमा पिसिआर परीक्षण गरिएको थियो । यसका साथै नेपाल भारतको सीमा नाकामा एन्टीजेन परीक्षण पनि हुने गरेको थियो । मधेस प्रदेशका पर्सा जिल्लाको वीरगञ्ज, रौतहटको गौर, महोत्तरीको भिठामोड तथा सिराहाको माडरमा नियमित रुपमा एन्टीजेनको परीक्षण गरिएको थियो ।  

भारतको केही राज्य तथा विश्वका अन्य मुलुकमा कोरोना संक्रमितहरु बढ्ने क्रम जारी रहेको बेलामा मधेस प्रदेशका दुई जिल्लामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि यसको जोखिम पुनः बढेको छ । 

कोरोनामा संक्रमित फेला परेकाले सजगता अपनाउनु पर्ने सुझाव चिकित्सकहरूले दिनुभएको छ । खास गरेर मास्क तथा स्यानिटाइजरको नियमित प्रयोग गर्नका लागि सुझाव स्वास्थ्य निर्देशक विजय कुमार झाले दिनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button