तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा मंगुर माछा विक्री वितरणमा रोक

सुर्खेत । सुर्खेतमा मंगुर माछाको विक्री वितरणमा रोक लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बुधवार बसेको बजार अनुगमन समितिसँग सर्वपक्षीय बैठकले जिल्लामा अवैध तरिकाले भारतीय माछा आउन थालेपछि माछा उत्पादक तथा उपभोक्ताको आग्रहमा मंगुर माछाको बिक्री वितरणमा रोक लगाइएको हो । 

उपभोक्ताले भारतबाट ‘फर्मालिन’ प्रयोग गरेको माछा समेत आयात गरेर व्यापारीले बढी मुनाफा कमाउने उद्देश्यले विक्री वितरण गरेको गुनासो गरेपछि बैठकले कुनै पनि व्यापारीबाट औषधि प्रयोग गरिएका माछा बिक्री वितरण गरेको पाइए कडा कारबाही गरिने जनाएको छ । 

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले कुनै पनि व्यापारीले माछालाई कुहिनबाट जोगाउन विषाक्त रसायन प्रयोग गरेको माछा बिक्री वितरण गरेको पाइए कानुन अनुसार हदैसम्मको कारबाही गरिने बताउनुभयो । 

उहाँले बजार अनुगमन समितिलाई समेत बजारमा पाईने माछाको परीक्षण गरी सत्य तथ्य बुझ्न समेत निर्देशन दिनुभयो । 

सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेको अध्यक्षतामा बसेको बैठकमा पर्यावरणीय हिसाबले नेपाल, भारतलगायतका देशमा प्रतिबन्धित फर्मालिनको डरले ग्राहक जिउँदो माछामा बढी रुचि राखेपछि विकल्पको रुपमा मंगुर (मुङ्ग्री) माछा खरिद गर्न थालेपछि माग बढेकाले भारतबाट आयातित माछाले आपूर्ति हुँदै आएको स्थानीय व्यवसायी बताउँछन् । 

माछाको वर्गीकरणमा समेत नराखिएको मंगुर माछाले अन्य माछालाई खाइदिने र जैविक विविधतालाई पनि नष्ट गर्ने भएकाले विक्री वितरणमा रोक लगाइएको हो । 

नेपालमा पालिने मुंगुर माछा हुर्काउन पनि फर्मालिनयुक्त माछाको आन्द्राभुँडी, भैँसीको मासुको अखाद्य अंश, सिनो आदि प्रयोग गरिन्छ । जल प्रदूषण हुनुका साथै माछामा अत्यधिक मात्रामा हेभिमेटल समेत पाइने भएकाले उक्त माछाको सेवनबाट क्यान्सर, अर्थराटिस, मधुमेह लगायतका घातक रोगहरू निम्तिने विज्ञहरूको भनाइ छ । 

बैठकमा उपभोक्तासँग सम्बन्धित २२ सरकारी कार्यालय सम्मिलित बजार अनुगमन समिति, माछा उत्पादक कृषक, माछा विक्रेता व्यवसायी र राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button