राष्ट्रियसभा बैठकमा आव २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएको छ ।
बैठकमा सांसदहरुले सरकारले ल्याएको बजेटले उत्पादनमा वृद्धि, कृषिलाई प्राथमिकता, सार्वजनिक सेवा र सुशासनको प्रत्याभूति गरेकाले बजेटले गन्तव्य समातेको बताउनुभयो ।
सांसद जितेन्द्र नारायण देवले यो बजेटले आयातबाट उत्पादनतर्फ, बञ्चितिकरणबाट समावेशी भएको भन्नुहुँदै नेपालका अर्थव्यवस्थाका मुख्य रोग तथा चुनौतीको पहिचान गरी बजेटले सम्बोधन गरेको बताउनुभयो ।
सांसद देवेन्द्र दाहालले बजेट गठबन्धनको चुनावी घोषणापत्रजस्तो भएको भन्नुहुँदै अर्थशास्त्रीय दृष्टिकोणबाट कमजोर भएको टिप्पणी गर्नुभयो ।
सांसद गङ्गा कुमारी वेल्वासेले बजेटले उत्पादनमा वृद्धि, कृषिमा आत्मनिर्भरताको नीति, महिलालाई क्यान्सरविरुद्धको खोप दिने लगायतका कार्यक्रम ल्याएको भन्नुहुँदै यो बजेटले थुप्रै समस्या समाधान गर्ने बताउनुभयो ।
सांसद डा.बेदुराम भुषालले जडीबुटी खेती तथा उद्योगका लागि नीति तथा कार्यक्रममा सांसदहरुले दिएको सुझावलाई बजेटले समेटेको, आयात घटाउने र निर्यात बढाउने उद्देश्य भएको भन्नुहुँदै विगतको वर्षहरूभन्दा यो बजेट उत्कृष्ट भएको बताउनुभयो ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले भन्सारमा रहेका सवारी साधनहरूलाई लिलामी गरी राजश्व बढाउनुपर्ने, पुरानो हवाईजहाज सञ्चालनमा पुनरावलोकन गर्नुपर्ने, खेतीयोग्य जमिनमा प्लटिङ बढेकाले रोक्नुपर्ने, सत्तापक्ष र प्रतिपक्ष मिलेर देश विकास गर्नुपर्ने भन्दै ग्रामीण इलाकामा बसेर ल्याइएको यथार्थपरक बजेट भएको धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्