तपाईँ सुन्दै हुनुहुन्छः

संसदमा आर्थिक वर्ष ०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफल 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ ।

छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता विष्णु पौडेलले बजेटमा मुलुकको अर्थतन्त्रको चुनौतीलाई बेवास्ता गरिएको भन्नुहुँदै बजेट सङ्कटमा पर्दै गएको अर्थतन्त्रलाई सही बाटोमा फर्काउन सक्ने खालको नभएको  बताउनुभयो । 

पुर्वअर्थमन्त्री समेत रहनुभएका नेता पौडेलले बजेटले तीव्र गतिमा अत्याधुनिक विकास गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नसक्ने हुनाले सरकार राष्ट्रिय सङ्कल्पबाट भागेको आरोप लगाउनुभयो ।

छलफलमा सत्तापक्ष नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले बजेट वर्तमान समयको  प्राथमिकता र आवश्यकताका आधारमा आएको बताउनुभयो ।

उहाँले अहिलेको अवस्थामा यो भन्दा पृथक् ढङ्गले बजेट आउन नसक्ने भन्नुहुँदै बजेटमा विद्यमान समस्याहरूको समाधान गर्ने गरी कार्यक्रमहरू समेटिएको उल्लेख गर्नुभयो । 

यस्तै, सत्तापक्ष नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बजेटको विशेषता, सिद्धान्त, प्राथमिकता, उद्देश्य र नीति तथा कार्यक्रम सबै एउटै दिशामा आएकाले सकारात्मक रहेको भन्नुहुँदै कार्यान्वयनमा समस्या नआउने बताउनुभयो ।

उहाँले, कृषि क्षेत्रको वैज्ञानिकीकरण गरी उत्पादकत्व र उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र पेन्सनको व्यवस्था गरी कृषि क्षेत्रलाई मर्यादित र भरपर्दो बनाउने  गरी आएको बजेट स्वागतयोग्य रहेको पनि बताउनुभयो ।

छलफलमा भाग लिँदै नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले बजेट समग्र मुलुकको विकासका दृष्किोणले महत्त्वपूर्ण रहेको बताउनुभयो ।

बैठकमा एमाले सांसद योगेश भट्टराईले बजेटले विकासको प्राथमिकता निर्धारण गर्न नसकेको बताउनुहुँदै उत्पादनका साधानहरुको  अधिकतम प्रयोगलाई ध्यान दिन नसकेको बताउनुभयो । 

बैठकमा सांसदहरू डा. डिला संग्रौला, मोहन प्रसाद पाण्डे, राजेन्द्र कुमार केसी लगायतले बजेट समग्रमा सकारात्मक रहेको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

त्यस्तै सांसदहरू पार्वत गुरुङ, गणेश कुमार पहाडी, अनिलकुमार झा, विनोदकुमार चौधरी, सुरेन्द्रकुमार कार्की, शेरबहादुर तामाङ, तेजुलाल चौधरी, हरीराज अधिकारी, राजेन्द्र प्रसाद गौतम, मान बहादुर विश्वकर्मा लगायतले आर्थिक वर्ष २०७९÷०८०को बजेटमाथि आफ्ना धारणा राख्नुभयो ।

बैठकले संविधानसभा सदस्य डिम्पल कुमारी झाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजे पुन बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button