तपाईँ सुन्दै हुनुहुन्छः

धोबिनी गाउँपालिकाको कार्यपालिकामा काँग्रेसको प्यानल विजयी

बीरगंज । पर्साको धोबिनी गाउँ कार्यपालिका सदस्यको आज सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ ।

६ कार्यपालिका सदस्यको लागि आज भएको निर्वाचनमा काँग्रेसका सबै उम्मेदवार विजयी भएका हुन् । दलित वा अल्पसङ्ख्यक सदस्यमा काँग्रेसका दिनेश प्रसाद र नन्दकिशोर प्रसाद कानु विजयी भएको निर्वाचन अधिकृतको कार्यालय धोबिनीले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार दुवै जनाले १५–१५ मत ल्याएर विजयी भएका हुन् । दुवै जनाका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का दिपक कुमार सर्राफ र प्रमेश्वर ठाकुरले १२–१२ मत पाएका थिए ।

महिला सदस्यमा काङ्ग्रेसकै परमजोती कुमारी, रिना देवी, शारदा पासवान र शोभावती देवी विजयी भएका हुन् । चारै जनाले १५– १५ मत ल्याएर विजयी भएका छन् । चारै जनाका प्रतिस्पर्धी जसपाका नगिना देवी, व्यान्ती देवी कुर्मीले १२–१२ मत पाएका थिए भने एमालेका कोशिला देवी पटेल र बचनी देवीले ११–११ मत पाएका थिए ।

२७ मतदाता रहेको गाउँ कार्यपालिका सदस्यको निर्वाचनमा काँग्रेसका १५, जसपाका ८ र एमालेका ४ मतदाता रहेका थिए । काँग्रेसले एक्लै र जसपा र एमालेले गठबन्धन गरेर कार्यपालिका सदस्यको चुनाव लडेका थिए ।

५ वडा रहेको धोबिनी गाउँपालिकामा जसपाले गाउँपालिका अध्यक्षसहित दुई वडाध्यक्ष, काँग्रेसले उपाध्यक्षसहित ३ वडाध्यक्षमा वैशाख ३० गते सम्पन्न निर्वाचनमा विजय प्राप्त गरेको थियो ।

यो जितसँगै अब धोबिनी गाउँपालिकाको कार्यपालिकामा काँग्रेसको पूर्ण बहुमत भएको छ । १३ कार्यपालिका सदस्य मध्ये काँग्रेसका १० जना र जसपाका ३ जना मात्र सदस्य भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button