राष्ट्रिय सभामा बजेट माथिको छलफल जारी

काठमाडौँ । राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष २०७९/०८०को राजस्व र व्ययको अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल चलिरहेको छ ।
राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८०को राजस्व र व्ययको अनुमान माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भए सँगै आगामी बजेट माथिको छलफल चलिरहेको हो ।
बैठकमा भाग लिनुहुँदै सत्ता पक्षीय सांसद रमेशजङ्ग रायमाझीले बजेटले कृषि,पर्यटन, सडक पूर्वाधार लगायत सबै क्षेत्र समेटेको भन्दै बजेट जनताको पक्षमा आएको बताउनुभयो ।
त्यस्तै प्रतिपक्षी दलका सांसद खिमलाल भट्टराईले बजेट महत्वकाँक्षी र सस्तो लोकप्रियता हासिल गर्ने गरी आएको भन्दै यसले मुलुकको वित्तीय अवस्थालाई झन् कमजोर बनाउने दाबी गर्नुभयो ।
त्यस्तै सांसद उर्मिला अर्यालले बजेट आत्म निर्भर अर्थतन्त्र निर्माणको आधार भएको भन्दै जनताको मर्म र पीडा सम्बोधन गरेको बजेटले समाजवाद उन्मुख अर्थतन्त्र निमार्ण सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
सांसद मोह्मद खालिदले प्रादेशिक संरचनालाई मजबुत पार्दै सङ्घीयतालाई संस्थागत गर्ने तर्फ बजेट उन्मुख रहेको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनमा १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।
राष्ट्रिय सभामा आज र भोलि बजेट माथि छलफल हुने र भोलि अर्थमन्त्री शर्माले बैठकमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।








प्रतिक्रिया राख्नुहोस्