तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक राजश्व कार्यालय, भरतपुरले लक्ष्य भन्दा पाँच प्रतिशत बढी राजश्व उठायो  

चितवन । चालु आर्थिक बर्ष २०७८/०७९को वैशाख महिनामा आन्तरिक राजश्व कार्यालय भरतपुरले लक्ष्य भन्दा भन्दा पाँच दशमलव शून्य पाँच प्रतिशत राजश्व असुली गरेको छ । राजश्व विभागले कार्यालयलाई २ अर्ब २३ करोड ३८ लाख ६२ हजार लक्ष्य दिएकोमा उक्त महिनामा २ अर्ब ३४ करोड ५९ लाख ३९ हजार राजश्व असुली गरेको हो । 

कार्यालयले आयकर, बहाल कर, व्याज कर, मूल्य अभिवृद्धि कर , अन्तःशुल्क कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा कर शीर्षकबाट कर असुली गर्दै आएको छ । यी शीर्षकमध्ये अन्तःशुल्क शीर्षकमा सबैभन्दा बढी कर असुली भएको छ भने शिक्षा सेवा करबाट सबैभन्दा कम राजश्व असुली भएको छ । जसअनुसार अन्तःशुल्क कर शीर्षकमा विभागले कार्यालयलाई १ अर्ब ८३ करोड ५५ लाख ७७ हजार लक्ष्य दिएकोमा कार्यालयले २ अर्ब ९ करोड ४६ लाख ७२ हजार राजश्व असुली गरेको छ भने शिक्षा सेवा करमा ४ लाख ८९ हजार लक्ष्य दिएकोमा ११ हजार रुपैंया मात्र असुली भएको छ । 

अन्तःशुल्क र आयकर बाहेक अन्य शीर्षकमा भने कार्यालयले लक्ष्य भेट्टाउन सकेको छैन । कार्यालयले दिएको तथ्याङ्क अनुसार वैशाख महिनामा आयकर शीर्षकमा १० करोड १० लाख २८ हजार लक्ष्य दिएकोमा १० करोड ६१ लाख २८ हजार रुपैंया कर असुली भएको छ । यस्तै बहाल कर शीर्षकमा ५० लाख ८० हजार लक्ष्य दिएकोमा १९ लाख ५० हजार रुपैंया, व्याज कर शीर्षकमा ५ करोड ७२ लाख ९ हजार लक्ष्य दिएकोमा १ करोड १० लाख ३४ हजार रुपैयाँ असुली , मूल्य अभिवृद्धि करमा २३ करोड ३९ लाख ६ हजार लक्ष्य दिएकोमा १३ करोड ४ लाख ६४ हजार रुपैयाँ र स्वास्थ्य सेवा शुल्क शीर्षकमा ५५ लाख ३ हजार लक्ष्य दिएकोमा १६ लाख ८० हजार रुपैंया असुली भएको छ । 

कार्यालयका कर अधिकृत सुशील लम्सालले कार्यालयको मुख्य श्रोत अन्तःशुल्क भएकोले यो शीर्षकमा बढी कर असुल भएको बताउनु भयो  । उक्त महिनामा आयकर तिर्ने महिना नभएको र मूल्य अभिवृद्धि करको अग्रिम भुक्तानी ५० प्रतिशतबाट ३० प्रतिशत कायम गरिएकोले कम राजश्व असुली भएको  उहाँले  बताउनु भयो  । ‘अहिले निर्माण कम्पनी तथा विकास निर्माण कार्य नै कम भएको अवस्था हो, उहाँले भन्नुभयो, सबै महिनामा सबै शीर्षकमा लक्ष्य भेट्टाउन मुश्किलनै पर्छ ।’ अबको दुई महिना राजश्व असुली हुने उपयुक्त समय हुने र लक्ष्य भन्दा बढी राजश्व असुल हुने उहाँको भनाई छ । 

विभागले कार्यालयलाई चालु आबको वैशाखसम्ममा १७ अर्ब २६ करोड ८० लाख ६६ हजार लक्ष्य दिएकोमा उक्त महिनासम्म १६ अर्ब ६४ करोड ७९ लाख राजश्व असुली गरेको छ । यो चालु आबमा विभागले कार्यालयलाई २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैंया असुली लक्ष्य दिएको छ । कार्यालयले यो चालु आबको वार्षिक लक्ष्य अनुसार कर असुलीलाई तीव्रता दिएको बताएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button