तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारीको नाममा साँढे दुई करोड ठगी, पाँच जना पक्राउ

काठमाडौँ । भ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङ राईनास नगरपालिका–३ का ४७ वर्षीय मधुविलास बास्कोटा, सोलुखुम्बु दुधकुण्ड नगरपालिका–८ का ५४ वर्षीय होमबहादुर खड्का, काठमाडौँ कागेश्वरी-मनोहरा नगरपालिका–७ बस्ने ३५ वर्षीया रञ्जना ढकाल प्याकुरेल र सोही ठाउँका ४० वर्षीय सन्तोष प्याकुरेल तथा रुपन्देही देवदह नगरपालिका ५ का ३० वर्षीय राजु भन्ने खुमबहादुर बस्याल छन् ।

उनीहरूले दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी एलएलसी सञ्चालक कोमलराज उपाध्याय समेतको गिरोहले आर्म्स गार्डमा ५०० को आवश्यकता भएको र मासिक रु तीन हजार दिरामसम्म पाउने भनी प्रलोभनमा पारेर प्रतिव्यक्ति रु तीन लाख ५० हजारदेखि आठ लाखसम्म खर्च लाग्ने भनी ठगेको खुलेको छ ।

गिरोहले फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालको पेजमा भ्रमात्मक विज्ञापन राखी आकर्षक तलब, सेवा सुविधाको प्रलोभन देखाई दुबईमा पुर्‍याएर काममा नलगाई बिचल्ली बनाएर फरार भएका खुल्न आएको छ । उक्त घटनामा संलग्न उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले सर्लाही, रुपन्देही र काठमाडौँका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरेको आज एक सूचना जारी गरी जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button