निर्वाचनमा आचारसंहिता विपरीत बालबालिकाको प्रयोग

काठमाडौँ । भरखरै सम्पन्न स्थानीय तहको निर्वाचनमा आचारसंहिता विपरीत बालबालिकाको प्रयोग भएको पाइएको छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपालले सामाजिक सञ्जालबाट गरेको अध्ययनको आधारमा १ सय १५ वटा बालबालिकासँग सम्बन्धित निर्वाचन आचारसंहिता उल्लघंनका घटना भएको जनाएको छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपालले आज काठमाडौँमा आयोजना गरेको छलफल कार्यक्रममा ९९ वटा घटना निर्वाचन प्रचारप्रसारका बेला ११ वटा घटना विजय जुलुस निकाल्ने क्रममा, २ वटा विद्यालयको बसको प्रयोग गरेर र १ वटा विद्यालयमा आमसभा गरेर उल्लङ्घन गरेको जानकारी दिएको हो ।
अध्ययनअनुसार सबैभन्दा बढी नेपाल कम्युनिष्ट पार्टी एमालेले ४२ वटा घटनामा आचारसंहिताविपरित बालबालिकाको प्रयोग गरेको छ ।
त्यसैगरी नेपाली काँग्रेसले ३५ वटा एकीकृत समाजवादी पार्टीले २०, नेकपा माओवादीले १५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६, जनता समाजवादी पार्टीले २ र अन्य दलले ६ वटा घटनामा निर्वाचन आचारसंहिता विपरीत बालबालिकाको प्रयोग गरेको अध्ययनबाट देखिएको छ ।
छलफलमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपालका अध्यक्ष राजेश शर्माले निर्वाचनमा आचारसंहिता विपरीत बालबालिकाको प्रयोग गर्ने दलहरूलाई कारबाही गर्न निर्वाचन आयोगमा उजुरी गरेको जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्