विदेशी मुद्राको अभावमा लेबनानका अस्पतालहरू बन्द हुने खतरामा
काठमाडौँ । लेबनानको निजी अस्पतालहरू उपकरण र औषधीहरू किन्न विदेशी मुद्राको अभाव भएका कारण बन्द हुने खतराको सामना गरिरहेका यहाँका अनलाइन सञ्चार माध्यमहरूले बिहीबार बताएका छन् ।
“अहिले बैङ्कहरूले नगद निकासीमा प्रतिबन्ध लगाएको बेला अस्पतालहरूले आवश्यक उपकरण तथा सामग्रीहरू किन्न अमेरिकी डलर कोष सुरक्षित गर्न असमर्थ रहेका छन्,” निजी अस्पतालहरूको समूहका प्रमुख सुलेमान हारूनले भन्नुभयो ।
लेबनानको केन्द्रीय बैङ्क नजिकै अस्पतालका प्रतिनिधिहरूले गरेको विरोध सभामा बोल्दै हारुनले तरलता अभावका कारण अस्पतालले आफ्ना श्रमिकको अधिकार सुरक्षित गर्न नसकेको पनि उल्लेख गर्नुभयो ।
उहाँले ‘सेन्ट्रल बैङ्क अफ लेबनान’लाई स्वास्थ्य क्षेत्रलाई आउनै लागेको सङ्कटबाट बचाउन बैङ्कहरूमा अस्पतालको कोष जारी गर्न आग्रह गर्नुभयो ।
लेबनानमा चलिरहेको अभूतपूर्व आर्थिक सङ्कटले गर्दा केन्द्रीय बैङ्कले अमेरिकी डलर निकासीमा व्यापक नियन्त्रण गर्न बाध्य भएको छ र यसले व्यापार तथा व्यक्ति विशेष दुवैलाई बृहत् प्रभाव परेको छ । रासस







प्रतिक्रिया राख्नुहोस्