तपाईँ सुन्दै हुनुहुन्छः

पदभार ग्रहण गर्दै रेणुका दुई निर्णयः छोरीहरुको निःशुल्क बीमादेखि निःशुल्क खानेपानीसम्म

चितवन। भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्त्वपूर्ण निर्णय गर्नुभएको छ । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र रु एक लाख बराबरको छोरी बिमा कार्यक्रमको निर्णय गरिएको छ ।

पहिलो पटक प्रमुख हुँदा उहाँले भरतपुर अस्पतालमा उपचारका लागि आउने महिला र ज्येष्ठ नागरिकका लागि बहिरङ्ग सेवा टिकट निःशुल्कको निर्णय गर्नुभएको थियो । दाहालले यो निर्णयले महानगरवासी लाभान्वित हुने बताउनुभयो । महानगरभित्रका झन्डै ५२ प्रतिशत जनताले आजैदेखि निःशुल्क खानेपानी पाउने भएका छन् । यसका लागि वार्षिक रु दुई करोड ५० लाख हाराहारी खर्च हुने महानगरको अनुमान छ ।

महानगरभित्र खानेपानी व्यवस्थापन बोर्ड र उपभोक्ता समितिमार्फत खानेपानी वितरण गरिँदै आएको छ । बोर्डका ३५ ग्राहक हजार छन् । बोर्डका प्रमुख प्रजापति दाहालका अनुसार २५ भन्दा बढी उपभोक्ता समितिमार्फत महानगरमा खानेपानी वितरण गरिँदै आएको छ । महानगरका ९० प्रतिशत जनताले सरकारी निकायबाट वितरण गरिएको स्वच्छ खानेपानी उपभोग गर्दै आएका छन् ।

महानगरले आज गरेको दोस्रो निर्णयमा महानगरपालिकामा स्थायी बसोबास गर्नेहरूबाट जन्मिएका छोरीका लागि रु एक लाखको जीवन बिमा गरिने भएको छ । महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पहिलो वर्ष एक हजार ७५० जनाको बिमा हुने अनुमान छ । सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूले यो अवसर प्राप्त गर्नेछन् ।

राष्ट्रिय बिमा संस्थानमार्फत बिमा गर्न लागिएको हो । एक जनालाई वार्षिक रु तीन हजार ३०० महानगरपालिकाले १५ वर्षका लागि बुझाउने छ । पन्ध्र वर्षपछि ती छोरीले रु एक लाख पाउने गरी बिमा गर्न लागिएको हो । अर्यालका अनुसार आउँदो १५ वर्षमा २६ हजार २५० जनाले सुविधा लिने अनुमान गरिएको छ ।

पदभार ग्रहणसँगै दाहालले महानगरवासीले आफ्नो अघिल्लो कार्यकालका कामलाई अनुमोदन गरेको भन्दै पहिलो प्राथमिकतामा अधुरा काम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भरतपुर महानगरपालिकालाई देशका अन्य पालिकाले सिको गर्ने बनाउँछाँै ।” महानगरवासीलाई निराश हुन नदिने भन्दै उहाँले सबैको राय–सुझाव लिएर काम गर्ने बताउनुभयो ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासीका आवश्यकता आफूहरूले बुझेको उल्लेख गर्दै सोहीअनुरूपका योजना अघि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, “अबको पाँच वर्षमा भरतपुरलाई देशकै सुन्दर सहर बनाइने छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button