तपाईँ सुन्दै हुनुहुन्छः

खानीखोलाको पहिलो निर्णय : दलित र अल्पसङ्ख्यक समुदायका विद्यार्थीलाई छात्रवृत्ति

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिकाले एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने दलित र अल्पसङ्ख्यक समुदायका छात्रा र छात्रलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । 

नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर थिङ “छिन्ताङ”ले पदभार ग्रहण गर्ने क्रममा पहिलो निर्णय गर्दै स्नातक तहसम्मको अध्ययनका लागि एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने दलित र अल्पसङ्ख्यक समुदायका छात्रा र छात्रलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो । यसका लागि गाउँपालिकाले अविलम्ब कार्यविधि बनाउने निर्णयमा उल्लेख छ । 

‘खानीखोला गाउँपालिका भित्रका अल्पसङ्ख्यक र दलित परिवारका छात्र÷छात्रामध्ये एसइई परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने एक जना छात्र र एक जना छात्रालाई जुनसुकै विषयमा विषयमा उच्च शिक्षा स्नातक तहसम्म गाउँपालिकाले निःशुल्क पठन पाठन गराउने सो कार्यका लागि गाउँपालिकाले कार्यविधि तयार गरी कार्यविधि बमोजिम कार्यान्वयन गर्ने निर्णय भएको छ’ पदभारको क्रममा भएको निर्णय सुनाउँदै निमित्त प्रशासकीय अधिकृत मोहनलाल श्रेष्ठले भन्नुभयो । 

त्यससँगै पदभार ग्रहणको क्रममा नवनिर्वाचित जनप्रतिनिधिहरूले सार्वजनिक पद धारण गरेपछि नियमानुसार बुझाउनुपर्ने तोकिएको ढाँचा बमोजिम म्यादभित्रै आफ्ना सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउने निर्णय पनि भएको छ ।

खानीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका सचिव इन्द्रबहादुर थिङ र उपाध्यक्षमा काँग्रेसबाट दोर्जेमान जिम्बा निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button