चितवनमा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु
चितवन । चितवनमा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १० का शकुन्तला पौडेल सुबेदीको आगलागीमा परी मृत्यु भएको हो । आगलागीमा भरतपुर महानगरपालिका वडा नम्बर ७ का तरुण थापा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज दिउँसो सवा १ः०० बजे भरतपुर महानगरपालिका १० बाल मन्दिर रोडस्थित मोडको घरको तेस्रो तल्लामा सञ्चालन रहेको शिखर इन्सुरेन्स कम्पनीको शाखा कार्यालयका कर्मचारीहरूले कम्पनीको बाहिर पट्टी झुण्ड्याएर राखिएको फ्लेक्स बोर्ड झिक्ने क्रममा अचानक करेन्ट सर्ट भई आगलागी हुँदा सुबेदी र थापा घाइते भएका थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएकी सुबेदीको उपचारका लागि भरतपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।
सोही ईन्स्युरन्समा कार्यरत अर्का घाइते थापालाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको र उनको अवस्था –मध्यम रहेको प्रहरीले जनाएको छ ।
भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय नागरिकहरूको सहयोगमा १ः४० मा पूर्ण आगो नियन्त्रणमा आएको थियो ।
आगलागीमा परी कम्पनीका केही कागजपत्र र फाइलहरू जलेर नष्ट भएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्