सप्तरीको छिन्नमस्ता गाउँपालिकामा जिल्लाकै कान्छा अध्यक्ष निर्वाचित

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षका बिद्यानन्द चौधरी पालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार चौधरी १ हजार १२९ मतको अग्रतासहित विजयी हुनुभएको हो ।
जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिका निवर्तमान अध्यक्ष, गाविसका पूर्व अध्यक्षलगायत १२ जनालाई पछि पार्दै लोसपाका चौधरी अध्यक्ष निर्वाचित भएका हुन् । उहाँले २ हजार ८९५ मत ल्याउनुभयो ।
चौधरीका निकटतम प्रतिद्वन्द्वी जसपाका सत्यनारायण यादवले १ हजार ७६६ मत ल्याउनुभयो । गाउँपालिकाका निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डलले ८ सय र जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख प्रभाकर यादवको ८९८ मत मात्र आयो ।

त्यस्तै उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की राजुदेवी यादवले ८७७ मतान्तरले विजयी हुनुभएको छ । यादव २ हजार ४७२ मत प्राप्त गरेर निर्वाचित हुनुभयो ।
उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी प्रमिलादेवी साहले १ हजार ५९५ मत ल्याउनुभयो । एमालेकी ललितादेवी मेहताले १ हजार ५१३ मत ल्याउँदा लोसपाकी उषाकुमारी मण्डल र जसपाकी आशा साहले समान १ हजार ३८४ मत ल्याउनुभयो । उषाकुमारी मण्डल गत स्थानीय तह २०७४ बाट उपाध्यक्ष हुनुभएको थियो ।
जम्मा ७ वडा रहेको नगरपालिकामा एमाले र माओवादीले २÷२, जसपा, नेकपा (एस) र जनमतले १÷१ वडा अध्यक्षमा जित हासिल गरेको छ ।
सप्तरीमा हालसम्म घोषित १६ स्थानीय तहको परिणाम अनुसार काँग्रेसले ५ नगर प्रमुखमा जित हासिल गरेको छ । यसैगरी जसपाले ३, एमाले, लोसपा र जनमत पार्टीले २/२, नेकपा (एकिकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) ले १/१ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्