अवरुद्ध कपुरकोट–तुलसीपुर अवरुद्ध सडक सञ्चालन
सल्यान । स्थानीयले बन्द गरेको कपुरकोट–तुलसीपुर सडक खण्ड शनिबार बेलुकीबाट खुलेको छ ।
टिप्परको ठक्करबाट सल्यान कपुरकोटका एक युवकको मृत्यु भएपछि स्थानीयले शनिबार बिहानदेखि राप्ती राजमार्ग अन्तर्गत कपुरकोट तुलसीपुर सडक खण्ड अवरुद्ध गरेका थिए ।

टिप्पर सञ्चालन गर्ने घोराही सिमेन्टका जिम्मेवार व्यक्तिहरू सम्पर्कमा आएपछि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिइएको तर पीडितको माग सम्बोधन नभएसम्म टिप्पर चल्न नदिइने बन्दकर्ताहरुले जनाएका छन् ।
दाङको तुलसीपुरमा प्रशासनको समन्वयमा पीडित पक्ष र सिमेन्ट प्रालिबिच छलफल चलिरहेको बताइएको छ । सिमेन्ट प्रालिका पब्लिक रिलेसन म्यानेजर अमर सुवेदी लगायतसँग छलफल चलिरहेको पीडित पक्षको तर्फबाट छलफलमा सहभागी रूपक बुढाले जानकारी दिए ।
घटना भएको तीन दिनसम्म पनि घोराही सिमेन्ट कम्पनी र जलजला यातायात प्रालिका जिम्मेवार व्यक्ति सम्पर्कमा नआएको भन्दै कपुरकोटमा क्रियाशील राजनीतिक दलहरूले विज्ञप्ति जारी गर्दै शनिबार बिहान १० बजेदेखि सडक अवरुद्ध गरेका थिए ।
दाङको तुलसीपुर ४ हर्नेटीमा बिहीबार साँझ ६ बजेतिर टिप्परको ठक्करबाट गम्भीर घाइते कपुरकोट गाउँपालिका वडा नम्बर –३ का १८ वर्षीय आकाश सेनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको थियो ।
बिहीबार साँझ कपुरकोटबाट तुलसीपुरतर्फ जाँदै गर्दा रा १ प ३१७९ नम्बर मोटरसाइकलमा सवार सेनलाई रा १ ख ११२३ नम्बरको टिप्परले ओभरटेक गर्ने क्रममा तुलसीपुर ४ हर्नेटीमा ठक्कर दिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्