लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिँदै नवनिर्वाचित मेयर सापकोटा
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान मेयर अमानसिंह तामाङको लोकप्रिय कार्यक्रमलाई नवनिर्वाचित मेयर कृष्णप्रसाद सापकोटाले निरन्तरता दिनुभएको छ ।

निवर्तमान मेयर तामाङले सुरु गर्नुभएको किरिया पुत्र भेटघाट र किरिया खर्च वितरण कार्यक्रमलाई नवनिर्वाचित मेयर सापकोटाले निरन्तरता दिनुभएको हो । जुन कार्यक्रम नगर बासीबिच लोकप्रिय हुँदै आएको थियो ।
शुक्रवार पदभार ग्रहण गरेकै दिन आमा गुमाउनुभएका चौतारा साँगाचोकगढी–४ का किरिया पुत्री भुजुङ लामालाई भेटघाट गरी किरिया खर्चका लागि रु पाँच हजार हाललाई वडा कार्यालय मार्फत उपलब्ध हुने मेयर सापकोटाले बताउनुभयो ।
त्यसो त घोषणापत्र मार्फत नै प्रथम मेयरको कार्यकालमा भए गरेको सम्पूर्ण काम कारबाहीको अपनत्व ग्रहण गर्ने प्रतिबद्धता जाहेर गरेका मेयर सापकोटाले अघिल्लो कार्यकालका अपुरा योजनाहरू पनि पुरा गर्दै जाने बताउनुभयो ।
उहाँले आफू मेयर भएपछिको पहिलो प्राथमिकता स्वास्थ्य, जीविकोपार्जन र शिक्षा रहेको बताउनुभयो ।
पदभार ग्रहण गरे लगत्तै मेयर सापकोटाले नगरबासीको स्वास्थ्य बिमा गर्ने नीतिगत निर्णय पनि गर्नुभएको छ । हाललाई द्वन्द्वपीडित, अल्पसङ्ख्यक, सीमान्तकृत, दीर्घ रोगी र निम्न आय भएका नगरबासीहरुको नगरपालिकाको खर्चमा अनिवार्य स्वास्थ्य बिमा गरिने उहाँले जानकारी दिनुभयो ।
नगरबासीहरुको आर्थिक अवस्थामा सुधार नआएसम्म समृद्ध नगरको सपना साकार हुन नसक्ने भन्दै मेयर सापकोटाले कृषि क्षेत्रसँग जोडिएर नगरबासीको जीविकोपार्जनमा सुधार ल्याउनु आफ्नो पहिलो कर्तव्य भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्