स्थानीय तह निर्वाचनमा दोलखा : गठबन्धनको फाइदा माओवादी केन्द्रलाई

दोलखा । स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम आउँदा दोलखामा नेकपा एमाले दोस्रो दलमा खुम्चिएको छ ।
दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको दोलखामा २०७४ को स्थानीय तह निर्वाचनमा दुई नगरपालिकासहित सात स्थानीय तह जितेर एमाले पहिलो दल बनेको थियो ।
यो पटक तीन पालिका प्रमुख, तीन उपप्रमुख र २५ वडा अध्यक्ष जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ भने दुई पालिका प्रमुख, पाँच उपप्रमुख र २४ वडा अध्यक्ष जितेर नेकपा एमाले दोस्रो दल बनेको हो ।
नेकपा माओवादी केन्द्रले तीन पालिका प्रमुख, एक उपप्रमुख र २१ वडा अध्यक्ष जितेर जिल्लामा तेस्रो दल बनेको छ ।
नेकपा एकिकृत समाजवादीले एक पालिका प्रमुख र दुई वडा अध्यक्ष जितेको छ भने दुई वडा अध्यक्ष स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
नेकपा एमाले नेताहरूको व्यक्तिवादी चरित्र, गुटगत राजनीति र उम्मेदवार छनौटमा देखिएको विवादका कारण जिल्लामा दोस्रो दलमा खुम्चनुपरेको विश्लेषण कार्यकर्ताहरूले गर्न थालेका छन् ।
सत्ता गठबन्धनको कारण जिल्लामा सबैभन्दा बढी फाइदा नेकपा माओवादी केन्द्रलाई भएको छ । नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीले भने सत्ता गठबन्धनबाटै असहयोग भएको गुनासो गरेका छन् ।
प्राप्त अन्तिम मत परिणाम अनुसार जिल्लाको मेलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेको हिराकुमार थोकर विजयी हुनुभएको छ । उहाँले एक हजार एक सय ५९ मतको फराकिलो अन्तरसहित नेकपा एकिकृत समाजवादीका रवीन्द्र कार्कीलाई पराजित गर्नु भएको हो । थरकोको पाँच हजार एक सय ५४ मत रहेको छ ।
उपाध्यक्षमा पनि नेकपा एमालेकै गायत्री आचार्य विजयी हुनुभएको छ । आचार्य पनि एक हजार चार सय ४७ मतको फराकिलो अन्तरसहित विजयी हुनुभएको छ । आचार्यले चार हजार सात सय ४९ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, दोलखाको जिरी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका मित्र जिरेल र उपप्रमुखमा कृष्णमाया बुढाथोकी विजयी हुनुभएको छ ।
प्रमुख मित्र जिरेल दुई हजार नौ सय ४९ मतका साथ विजयी हुनुभएको हो । जिरेलका प्रतिस्पर्धी नेपाली काँग्रेसका लाक्पा शेर्पाले दुई हजार छ सय ९२ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै उपप्रमुखमा कृष्ण माया बुढाथोकी तीन हजार चार सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका तेजबहादुर तामाङ्गले तीन हजार एक सय २० मत प्राप्त गर्नु भएको थियो ।
त्यसैगरी, दोलखाको तामाकोसी गाउँपालिकाको अध्यक्षमा नेकपा एकिकृत समाजवादीका प्रोण प्रताव केसी र उपाध्यक्षमा नेपाली काँग्रेसको सृजना सुवेदी विजयी हुनुभएको छ । केसीले पाँच हजार चार सय ९० मत प्राप्त गर्नुभएको थियो ।
उहाँको प्रतिद्वन्द्वी एमालेका अभिषेक सुवेदीले तीन हजार चार सय ६६ मत प्राप्त गर्नुभएको थियो ।
उपाध्यक्षमा काँग्रेसका सृजना सुवेदीले पाँच हजार चार सय ४२ मत प्राप्त गर्नु भएको छ भने उहाँको प्रतिद्वन्द्वी एमालेको अम्बिका पोखरेलले तीन हजार तीन सय ५१ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, बैतेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा नेपाली काँग्रेसका छवि लामाले पाँच हजार दुई सय ९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी एमालेका माधव प्रसाद घिमिरेले तीन हजार एक सय ७२ र नेकपा माओवादी केन्द्रका लक्ष्मण खड्काले दुई हजार आठ सय ७३ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा नेपाली काँग्रेसकै कल्पना उप्रेतीले पाँच हजार दुई सय ७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एकिकृत समाजवादीका कल्याण दाहालले दुई हजार सात सय आठ र एमालेको समर्थन रहेको स्वतन्त्र उम्मेदवार छवि लामाले दुई हजार ६७ मत प्राप्त प्राप्त गर्नु भएको थियो ।
त्यसैगरी दोलखाको गौरीशङ्कर गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विश्वास कार्की विजयी हुनुभएको छ । उहाँले चार हजार सात सय ५१ मत प्राप्त भएको छ भने नेकपा एमालेका जङ्ग गुरुङले तीन हजार सात सय ५७ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसको श्याम सुन्दर तामाङ विजयी हुनुभएको छ । तामाङले चार हजार सात सय ४१ प्राप्त गर्नु भएको छ भने उहाँको प्रतिद्वन्द्वी एमालेका मुना शिवाकोटीले तीन हजार दुई सय ८१ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, शैलुङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका रिमालबाबु श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले चार हजार नौ सय १८ मत प्राप्त गर्नु हुँदा नेकपा एमालेका उम्मेदवार धन बहादुर तामाङले चार हजार आठ सय ५८ मत प्राप्त गर्नुभएको छ ।
पालिका उपाध्यक्षमा भने नेकपा एमालेकी पार्वती कार्की विजयी हुनुभएको छ । कार्कीले पाँच हजार एक सय ३५ मत प्राप्त गर्नुभएको छ भने लामाले चार हजार सात सय ४१ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, जिल्लाको विगु गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सञ्जीव ओली चार हजार एक सय मतका साथ विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युतम केसीले तीन हजार नौ सय ७३ मत प्राप्त गर्नुभएको थियो ।
ओली २०७४ को स्थानीय तहको निर्वाचनमा विगु गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । विगु गाउँपालिकामा उपाध्यक्षमा भने नेकपा एमालेको उम्मेदवार देवीका थामी निर्वाचित हुनुभएको छ ।
थामीले चार हजार १३ मत प्राप्त गर्नुहुँदा उहाँको प्रतिद्वन्द्वी गठबन्धनको उम्मेदवार नेपाली काँग्रेसका आङनिमा शेर्पाले तीन हजार आठ सय २६ मत प्राप्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्