पोखराको प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङको अग्रता कायमै

कास्की । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का प्रमुखका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायमै राख्नुभएको छ ।
पोखरामा शनिबार दिउँसो २ः३० बजेसम्म ८५ हजार १५७ मतगणना सकिएकामा आचार्यले ३४ हजार ३३६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्ण थापाले ३० हजार ९४९ मतसहित पछ्याइरहनुभएको छ ।
प्रमुखमा आचार्य र थापाको मतान्तर तीन हजार ३८७ रहेको छ । पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो । त्यस्तै प्रमुखमा राप्रपाका शङ्कर खरालले तीन हजार ८३५ र स्वतन्त्र उम्मेदवार गणेश पौडेलले दुई हजार ३३५ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी महानगरको उपप्रमुखमा एमालेका मञ्जुदेवी गुरुङले ४६५ मतले अग्रता बनाउनुभएको छ ।
गुरुङले ३५ हजार ३१२ मत प्राप्त गर्दा काँग्रेसका कोपिला रानाभाटले ३४ हजार ८४७ मत ल्याउनुभएको छ । गणनाको सुरुआतदेखि अग्रता बनाउनुभएका रानाभाट शुक्रवार रातिदेखि गणनामा पछि पर्नुभएको हो ।
पोखरा महानगरका ३३ वडामध्ये हालसम्म १९ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेसले १५ वडामा जित हासिल गरेको छ भने एमालेले पाँच वडा जितेको छ ।
गत वैशाख ३१ गतेदेखि मतगणना सुरु भएकामा हालसम्म काँग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६, २७ र २८ नं वडा जितेको हो । एमाले वडा नं १, ५, ६, ८ र वडा नं २० मा विजयी भएको छ ।








प्रतिक्रिया राख्नुहोस्