तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडाले पाउने भयो, पहिलो महिला नगरप्रमुख 

मकवानपुर । बागमती प्रदेशको राजधानी समेत रहेको एकमात्र हेटौँडा उपमहानगरपालिकाले पहिलो महिला मेयर पाउने भएको छ । लामो समय एमालेको किल्लाको रुपमा रहेको मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिनु भएकी लामालाई जित हासिल गर्न कठिन हरेको आकलन गरिएको थियो । तर, मतगणना अन्तिम चरणमा आइपुग्दासम्म उहाँको जित निश्चित भएको छ ।

मत गणनाका क्रममा लामालाई आएको मतको अवस्था र उहाँको अग्रतालाई हेर्दा हेटौँडावासीले पहिलो महिला नगर प्रमुख पाउने पक्कापक्की देखिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौँडा उपमहानगरको उपप्रमुखको रुपमा भारी मतले विजयी हुनु भएको थियो । एमालेको विभाजन पछि नेकपा एकीकृत समाजवादीमा रहनु भएकी उहाँले गठबन्धनको तर्फबाट उम्मेदवार दिनुभयो । 

हालसम्मको मतगणनालाई हेर्दा उहाँको प्रतिस्पर्धी रहनु भएका एमालेका अनन्त प्रसाद पौडेल र राप्रपाका दिपक बहादुर सिंह निकै पछाडि हुनु हुन्छ । सुरुवाती मतगणनामा पौडेल कहिले पौडेल त कहिले सिंहको अग्रता रहेपनि अनपेक्षित मतले हेटौँडाको चुनावी माहौल ततायो । एमालेको लालकिल्ला मानिएको नगरका वडाहरूका अपेक्षित मत पौडेललाई आउन सकेन ।

लामाको लगातारको अग्रता र मत परिणामले हेटौँडाले महिला मेयर पाउने देखिन्छ । अघिल्लो कार्यकालमा उपप्रमुख भएर काम गर्नुभएकी लामालाई नगर प्रमुख भएर इतिहास रच्ने र हेटौँडाको मुहार फेर्ने अवसर प्राप्त हुने देखिन्छ । गठबन्धनबाट नगरप्रमुख भए पनि  लामालाई काम गर्न भने त्यति सहज देखिन्न । नगरका १९ मध्ये ९ वटा वडामा एमालेले जितेको छ । हेटौँडाको पहिलो महिला मेयर भई उत्कृष्ट कार्य सम्पादनबाट हेटौँडाको मुहार फेर्न लामा कतिको सफल हुनेछिन् त्यो हेर्न बाँकी रहने छ ।

को हुन मिना कुमारी लामा ?
बुवा शुक्रवीर लामा र आमा सीतादेवी लामाको जेठी छोरीको रुपमा २०३३ साल पुस २७ गते हेटौँडा ११ नवलपुरमा जन्म भएको मिना कुमारी लामाको बाल्यकाल अवस्था सामान्य साधारण रुपमा बित्यो । २०४६ सालबाट विद्यार्थी जीवनबाट नै राजनीतिमा यात्रा सुरु गर्नु भएकी हेटौँडा ११ नवलपुर स्थित त्रिभुवन माविबाट एसएलसी गरेपछि मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर र हरी खेतान बहुमुखी क्याम्पस वीरगन्जबाट एल.एल.बी.सम्मको अध्ययन गरी राजनीतिक यात्रामा अगाडी बढ्नुभयो । 

२०५२ मा अनेरास्ववियू मकवानपुरको जिल्ला कोषाध्यक्ष भई काम गरेर राजनीतिसँगै अध्ययनलाई अगाडी बढाउँदै २०५४ सालमामा हेटौँडा–१ का सुनकुमार लामासँग उहाँको विवाह भयो । श्रीमान् तथा घरपरिवारको साथ सहयोगबाटै दुई सन्तानकी आमा मीनाले अध्ययन, राजनीति र पारिवारिक जीवनलाई सफलतापूर्वक चलाएर राजनीति सँगै अघि बढ्दै २०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उप–सचिव र विद्यार्थी इन्चार्ज भई जिम्मेवारी बहन गर्नुभयो । 

२०७१ सालमा अखिल नेपाल महिला सङ्घ मकवानपुर जिल्ला सचिव २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय सदस्य, आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्ष समेत हुनुभयो । लामा राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय हुनु हुन्छ । 

बालविकासको क्षेत्रमा दश वर्षसम्म काम गरेको अनुभव बटुल्नु भएकी उहाँ सन् २०१८ देखि लायन्स क्लब अफ पाथीभराको सदस्य हुनुभयो । लामाले हालसम्म चीन, भारत र कोरिया लगायतका देशको भ्रमण गरिसक्नु भएको छ । हेटौँडा उपमहानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीको भागमा परेपछि लामालाई उम्मेदवार बनाइएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button