काभ्रेमा ६ वटा स्थानीय तहको मत गणना सम्पन्न
काभ्रेपलाञ्चोक । काभ्रेको १३ वटा स्थानीय तहहरू मध्ये ६ वटा स्थानीय तहको मत गणना सम्पन्न भएको छ ।
जिल्लाको नमोबुद्ध नगरपालिका, बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका, चौँरीदेउराली गाउँपालिका र खानीखोला गाउँपालिका र भुम्लु गाउँपालिकाको मत गणना सम्पन्न भएको छ । जिल्लामा अधिकांश स्थानीय तहको प्रमुख/उप–प्रमुख, अध्यक्ष/उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।
नमोबुद्ध नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा विजयी भएका छन् । प्रमुखमा विजयी लामाले निकटतम प्रतिस्पर्धी एमालेका राजन भुर्तेललाई ५ हजार ३८९ मतान्तरले पराजित गरे । लामाले ११ हजार २११ र भुर्तेलले ५ हजार ८२२ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा निकटतम प्रतिस्पर्धीलाई १ हजार ६४४ मतले पछि पार्दै गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार रत्नबहादुर लामा विजयी भए । लामाले ८ हजार १८७ र एमालेकी सम्झना लामाले ६ हजार ५४३ मत प्राप्त गरिन् ।
बनेपा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार शान्ति शाक्य विजयी भएका छन् । उनी १३ हजार ७ सय ९३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रत्न कुश रंजितकारले ११ हजार ८ सय ३५ मत प्राप्त गरेका हुन् ।
उप–प्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार विमला सापकोटा दाहाल विजयी भएकी हुन् । दाहालले ११ हजार ९ सय ९२ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका रगुवर चौ प्रधानलाई १४ सय ७७ मतले पराजित गरेकी हुन् । प्रधानले १० हजार ५ सय १५ मत प्राप्त गरेका छन् ।
मण्डनदेउपुर नगरको प्रमुखमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष टोकबहादुर वाइबा विजयी भएका छन् । वाइवाले उनका प्रतिद्वन्द्वी एमालेका विदुर सापकोटालाई १ हजार ५५ मतले हराएका हुन् । नगर प्रमुख पदमा वाइबाले ९ हजार ४ सय ६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विदुर सापकोटाले ८३५१ मत ल्याएका छन् ।
उप–प्रमुखमा नेपाली काँग्रेसले जितेको छ । काँग्रेसका उम्मेदवार विष्णुमणि नेपाल भारी मतान्तरका साथ विजयी भएका हुन् । नेपालले उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सरिता ढकाललाई ४ हजार ३ सय ८१ मतले पराजित गरेका हुन् । उप–प्रमुखका विजयी विष्णुमणि नेपालले ११३०५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेकी सरिता ढकालले ६९२४ मत ल्याएकी छिन्।
चौँरीदेउराली गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणुका चौलागाई गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी छिन् । रेणुकाले उनका प्रतिद्वन्द्वी एमालेका जित राम लामालाई ७ सय ६५ मतले हराएकी हुन् । रेणुका ६२२८ मत पाएर निर्वाचित भएकी छिन भने उनका प्रतिद्वन्द्वी एमालेका जित राम लामाले ५४६३ मत पाएका छन् ।
गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसको उम्मेदवार शेर बहादुर लामा निर्वाचित भएका छन् । लामा भारी मतले विजयी भएका हुन् । लामाले उनका प्रतिद्वन्द्वी एमालेकी बविता खरेल गौतमलाई ३ हजार ६ सय ७० मतले हराएका हुन् । लामाले ७२१९ मत पाएका छन् भने उनको प्रतिद्वन्द्वी नेकपा एमालेकी बविता खरेल गौतमले ३५४९ मत पाएकी छिन् ।
खानीखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्षमा काँग्रेसका दोर्जेमान जिम्वा विजयी भएका छन् । अध्यक्षमा निर्वाचित थिङले ४ हजार ४ सय ८५ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका शेखर लामाले ३ हजार १ सय ५६ मत पाए । अध्यक्षमा थिङ्ले १३३० मत अन्तरले जितेका हुन् भने, पालिकाको उपाध्यक्षमा जिम्वाले ४ हजार ३ सय २७ मत र एमालेकी रुकमणि गुरुङले २ हजार ९ सय ८७ मत प्राप्त गरे । जिम्बाले १३४१ मत अन्तरले जितेका हुन् ।
भुम्लु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का प्रेम बहादुर भुजेल र उपाध्यक्षमा नेपाली काँग्रेसका जितेन्द्र मान तामाङ विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) का भुजेलले नेकपा एमालेका प्रेम कुमार लामा (दोङ्ग) लाई १ हजार २ सय २४ मतले पराजित गरेका हुन् । भुजेलले ५,७९२ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी लामाले ४,५६८ मत प्राप्त गरेका थिए । गाउँपालिका उपाध्यक्षतर्फ नेपाली काँग्रेसका जितेन्द्र मान तामाङ्गले २ हजार ६९ मतले विजयी भएका छन् । तामाङ्गले ६,०९८ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कल्पना कुमारी श्रेष्ठले ४,०२९ मत प्राप्त गरेकी छिन् ।
जिल्लाको धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका, महाभारत गाउँपालिका र तेमाल गाउँपालिका गरी ७ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको निर्वाचन आयोग काभ्रेले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्