विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको छ ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै सांसदहरुले मुलुकको आर्थिक विकासका लागि ठोस कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसकी सांसद पुष्प भुसाल गौतमले आगम बजेटले तीन तहको सरकारलाई बलियो बनाउन ठोस कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।
सांसद भुषालले सरकारको नीति, कार्यक्रम तथा बजेटमा ग्रामीण विकास, उद्यमशीलता, कृषि तथा उद्योगमा आत्मनिर्भर हुने विषयलाई प्राथमिकता दिनुपर्ने भन्नुहुँदै स्थानीय तहको निर्वाचनमा ३४ लाख मतदाताको रुपमा युवाहरू आइसकेकोले तीनलाई स्वरोजगार बनाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद भुसालले महिलाका क्षेत्रमा विभिन्न कार्यक्रम ल्याउनुपर्ने भन्दै शिक्षित महिला घरमा बस्नुपर्ने बाध्यताको अन्त्य, छात्राहरूलाई सेनेट्यारी प्याड निःशुल्क वितरण लगायतका कार्यक्रम बजेटमा समेटिनुपर्ने उल्लेख गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा शिक्षा तथा स्वास्थ्य सबलीकरण, बढिरहेको मुद्रा स्फीति, व्यापार घाटा, उद्योगधन्दा बन्द, बेरोजगारीको विषयलाई प्राथमिकता नदिएको टिप्पणी गर्नुभयो
सांसद भट्टराईले हरित अर्थतन्त्रका विषयमा यसअघि चर्चा भए पनि यसको विकल्प सरकारले नदिएको बताउनुहुँदै व्यापार घाटा डरलाग्दो तरिकाले बढिरहेको बेला सरकारले कुनै वैकल्पिक उपाय नल्याएको आरोप लगाउनुभयो ।
नेता भट्टराईले मुलुकको बैङ्कमा तरलताको अभाव, उद्योगधन्दा, व्यापार व्यवसाय सबै सङ्कटमा परेका बेला सरकारले आगम बजेटमा वैकल्पिक उपाय दिनुपर्ने सुझाव दिनुभयो ।
बैठकमा नेकपा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले सरकारले बजेट, नीति तथा कार्यक्रम ल्याउँदा प्रमुख प्रतिपक्षी दल र सत्तारुढ दलबिच गम्भीर छलफल गर्नुपर्ने बताउनुभयो ।
सांसद गजुरेलले कृषि, पर्यटन तथा भूमिसुधार क्षेत्रलाई समेटी देशलाई कस्तो बनाउने भन्ने विकासको मोडालिटीबारे राजनीतिक पाटीमा गम्भीर छलफल हुनुपर्नेमा जोड दिनुभयो ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले अर्थमन्त्रीले ल्याएका विनियोजन बजेटका सिद्धान्त र प्राथमिकतामा मोटा विषय आएको भन्दै जनतालाई छुने विषय आउनुपर्नेमा जोड दिनुभयो ।
सांसद खनालले संविधानको भाग ४ लाई गम्भीरतापूर्वक अध्ययन गरी भूमिसुधारका विषयलाई विनियोजन बजेटका सिद्धान्त र प्राथमिकतामा राख्न अर्थमन्त्रीलाई आग्रह गर्नुभयो ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी छ ।








प्रतिक्रिया राख्नुहोस्