तपाईँ सुन्दै हुनुहुन्छः

हचुवाको भरमा विजयी घोषणा नगर्न काउन्सिलद्वारा ध्यानाकर्षण

काठमाडौँ । प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचन, २०७९ को मतगणना हुने र परिणाम आउने क्रम जारी रहेकाले अनुमानको भरमा समाचार सम्प्रेषण नगर्न सम्बद्ध पत्रकार र सञ्चार माध्यमहरूलाई ध्यानाकर्षण गराएको छ ।

file photo

विभिन्न स्थानमा मतगणना चलिरहेको र त्यसको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने देखिएको अवस्थामा केही सञ्चार माध्यमले आफैँ विजय घोषणा गरेर समाचार सम्प्रेषण गरेको पाइएको हुँदा निर्वाचन आयोगबाट सत्य–तथ्य र आधिकारिक जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न प्रेस विज्ञप्ति मार्फत भनिएको हो ।

यस्तै निर्वाचन सम्पन्न गराउन पत्रकार जगतले आफ्नो तर्फबाट निभाएको भूमिकाको प्रशंसा गर्दै काउन्सिलले सम्बद्ध पत्रकार, सञ्चार माध्यमलाई धन्यवाद दिएको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा मङ्गलवार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै समयमा नै तथ्याङ्क अद्यावधिक (अपडेट) नहुँदा सञ्चार माध्यमबाट ‘अडियन्स’ मा गलत, अपुष्ट सन्देश जाने भएकाले यसतर्फ ध्यान दिँदै तथ्याङ्क अद्यावधिक गरी पत्रकार र सञ्चार माध्यमलाई समयमा नै प्रदान गर्न काउन्सिलले निर्वाचन आयोग नेपाललाई आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button