शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान: आयोग
काठमाडौँ । निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ छिटपुट घटना बाहेक शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै केही स्थानमा दल र उम्मेदवारहरूका कारण विवाद भई मतदान अवरुद्ध भएको र स्थगनको विस्तृत विवरण आउन बाँकी रहेको जनाउँदै अधिकांश स्थानमा मतदान सम्पन्न भएको बताउनुभयो ।

उहाँले साँझ ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरिए पनि सो समयमा मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई मतदान गर्न दिइने भएकाले कूल खसेको मतको यकिन सङ्ख्या र प्रतिशत प्राप्त भई नसकेको स्पष्ट पार्नुभयो ।
वर्षाका कारण मतदानमा कुनै गम्भीर असर नपरेको तथा खटिएका सुरक्षाकर्मी र कर्मचारीबाट आयोगलाई यथेष्ट सहयोग मिलेको बताउँदै प्रवक्ता शर्माले उहाँहरू सबैलाई धन्यवाद दिनुभयो ।
प्रवक्ता शर्माले मतदान सम्पन्न भई सुरक्षित रूपमा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफलपछि सहरी क्षेत्रमा आजै रातिदेखि मतगणना कार्य सुरु हुने जानकारी दिनुभयो ।
आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वत लगायत जिल्लाका केही मतदान स्थलमा विवाद भएका कारण मतदान कार्य अवरुद्ध भएको थियो ।
अवरुद्ध भएका स्थानमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुनः मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्