प्रधानमन्त्री देउवाले गन्यापधुराको असिग्राम ‘ख’ बाट मतदान गर्नुहुने

डडेलधुरा । स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुरामा मतदान गर्ने हुनु भएको छ । उहाँले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने हुनुभएको हो ।
निर्वाचन कार्यालयका अनुसार गन्यापधुरामा कुल १० हजार ४१४ जना मतदाता रहेका छन् । यो गाउँपालिकामा १४ वटा मतदान केन्द्र छन् ।देउवाको मतदाता नामावली रुवाखोलामा रहेको सहायक मतदान अधिकृत दिलीप तामाङले जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले यसै विद्यालयमा अध्ययन पनि गर्नुभएको हो । उहाँको घर विद्यालयको पूर्वतर्फको मटेला गाउँमा छ । उहाँको जन्मघर मटेला गाउँ र मतदान केन्द्रको बिचमा रुवाखोला नामको खोला पर्छ । यसै खोलाको नामबाट यस क्षेत्रको नाम रुवाखोला रहन गएको हो । खोला छेउमै असिग्राम देवताको मन्दिर पनि छ ।
यसै मन्दिरको नामबाट विद्यालयको नामकरण गरिएको हो । तत्कालीन अवस्थामा यो क्षेत्र असिग्राम गाविस थियो । पाँचवटा गाविसलाई समेटेर गन्याधपुरा गाउँपालिका बनाइएको हो ।
प्रधानमन्त्री देउवा आइतबार साँझबाट गृह प्रदेशमा हुनुहुन्छ । उहाँ शुक्रबार मतदान गरेर काठमाडौं फर्कने कार्यक्रम छ ।








प्रतिक्रिया राख्नुहोस्