भोट हाल्न गाउँ फर्किँदै मतदाता

सल्यान । स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि मतदाताहरू गाउँ फर्कन थालेका छन् ।
सङ्घीयता कार्यान्वयनसँगै दोस्रो पटक यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न भारतबाट घर फर्कन थालेका हुन ।
रोजगारीका लागि भारतका विभिन्न स्थानमा पुगेका सल्यानका नागरिक स्थानीय तहको निर्वाचनमा मतदान गर्न घर फर्कन थालेका छन् ।
गाउँका प्रतिनिधि चयन हुने निर्वाचन भएकाले आफ्ना माग जति बेला पनि राख्न सकिने हुँदा मतदान गर्न घर फर्किएको भारतबाट फर्किएका नारायण वलीले बताउनुभयो । गाउँ घरको विकास र सुविधा ल्याउन सक्नेलाई जिताउने आफूहरूको योजना रहेको उहाँले बताउनुभयो । गाउँको विकास गर्ने र सबैलाई मिलाएर लैजान सक्नेलाई भोट दिने वलीको भनाई छ ।
बागचौर नगरपालिका १२ का १ सय २५ भन्दा बढी मतदान गर्न पहिलो चरणमा आएको प्रेम केसीले बताउनुभयो । चुनावमा भाग लिन दुई हप्ताको बिदा मिलाएर घर फर्किरहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, “सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकारले भएकाले योग्य र गाउँघरको विकास गर्न सक्नेलाई जिताउन बिदा लिएर घर फर्किएका छौँ ।” आफूहरूले मजदुरीकै भरमा गुजारा गरे पनि छोरा नातिका दिन सुध्रन उहाँहरूको विश्वास छ ।
आफ्नो मताधिकारको प्रयोग गर्न होस या आफूले आस्था राख्ने दलका उम्मेदवारलाई जिताउन होस मतदाताहरू गाउँ फर्किन थालेका छन् । निर्वाचन आउन एक हप्ता पनि बाँकी नरहँदा अहिले नै गाउँ जान सहज हुने भन्दै सर्वसाधारण गाउँ जान थालेका छन् ।








प्रतिक्रिया राख्नुहोस्