निर्वाचनमा कञ्चनपुरका लागि करिब तीन हजार सुरक्षाकर्मी परिचालन हुने

कञ्चनपुर । कञ्चनपुरमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा झन्डै तीन हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
जिल्ला सुरक्षा समितिले यहाँका निर्वाचन केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको छ
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि रणनीतिक सुरक्षा योजनासहित जिल्लाको सुरक्षा कायम गर्न तयार रहेको बताउनुभयो । उहाँले सबैभन्दा बाहिरी घेरामा नेपाली सेनाको गस्ती तथा सुरक्षा पहरा रहने जानकारी दिनुभयो ।
कञ्चनपुरमा निर्वाचनका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा निर्वाचन सुरक्षाका लागि नौ वटै पालिकामा सुरक्षा निकायले सक्रियता बढाएका छन् ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाका नौ वटै पालिकामा २ हजार ८ सयदेखि तीन हजारसम्म सुरक्षाकर्मी निर्वाचनमा खटाइने जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखले मतदान केन्द्र र स्थलको अनुगमन गर्ने कार्य गरिरहनुभएको छ ।
त्यसैगरी, केही दिनअघि जिल्ला प्रशासन कार्यालयले इण्डो नेपाल समन्वयात्मक बैठक गरेर निर्वाचनको ४८ घण्टाअघि नेपाल–भारत सीमा बन्द गर्न भारतीय पक्षसँग समन्वय गरिसकेको छ ।
भारतीय पक्षबाट पनि नेपालको स्थानीय तहको निर्वाचनका बेला सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नमा सहयोग रहने जनाएको छ ।
त्यस्तै, जिल्ला निर्वाचन कार्यालयले निर्वाचन कञ्चनपुरमा ३४१ मतदान केन्द्र तोकेको छ । जिल्लामा मतदाताको कूल सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने मतदान र सहायक मतदान अधिकृतलाई आजदेखि तालिम दिन सुरु गरेको छ ।
यहाँ निर्वाचनका लागि ३४१ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा आज र भोलि दुई चरणमा तालिम सञ्चालन गरिएको छ ।
त्यसैगरी, कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले यहाँ आएको मतपत्रहरू मिलाउने काम भइरहेको बताउनुभयो ।
उहाँले जिल्लामा तीन लाख १४ हजार मतपत्र आएको र मतपत्र मिलाउने कार्य करिब सकिने अवस्थामा रहेको बताउनुभयो ।
निर्वाचन सम्पन्न गर्न भीमदत्त नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र बाँकी आठ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सञ्चालनमा छन् ।








प्रतिक्रिया राख्नुहोस्