वी.पी.स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीको स्तरोन्नति

सुनसरी । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको इमर्जेन्सी वार्डको स्तरोन्नति गरी सुविधा सम्पन्न बनाइएको छ ।
इमर्जेन्सीमा आउने बिरामीहरूलाई थप सुलभ र अझ बढी प्रभावकारी उपचार सुविधा उपलब्ध गराउन नयाँ मेडिकल उपकरणहरू तथा बेडहरूमा उल्लेख्य रुपमा वृद्धि गरिएको हो ।
बिरामीहरूको चापलाई मध्यनजर गर्दै २० थान बेड तथा १५ थान ट्रली थप गरिएको साथै सिकिस्त तर भेन्टिलेटरको आवश्यक नपर्ने बिरामीहरूका लागि एचडियु बेडहरू पनि निकट भविष्य मै जडान गर्ने योजना रहेको प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिनु भएको छ ।
भविष्यमा आवश्यकता अनुसार बेडको सङ्ख्यामा पनि वृद्धि गर्दै लगिने योजना रहेको इमर्जेन्सीमा आउने बिरामीहरूको चाप आफ्नो क्षमता भन्दा सधैजसो अधिक हुने गरेको, इमर्जेन्सी वार्डमा चिकित्सकहरूको कमी हुन नदिने उद्देश्यले थप चिकित्सकहरूको लागि विज्ञापन खोलिसकिएको प्रतिष्ठानका सह प्रवक्ता डा. पोखरेलले बताउनुभयो ।
इमर्जेन्सी भित्रका आवश्यक स्थानहरूमा १० थान पेटेन्ट मनिटर पनि जडान गरिएको छ । यस्को जडानले बिरामीको स्वास्थ्य अवस्था बारे लगातार मोनिटरिङ गरी बिरामीको गुणस्तरीय उपचार गर्न थप सहयोग मिल्नेछ ।
इमर्जेन्सी ल्याबबाट दिइने सेवाहरूलाई अझ बढी द्रुत गतिमा उपलब्ध गराउने व्यवस्था गरिएको इमर्जेन्सीमा आउने बिरामीहरूका लागि आवश्यक पर्ने सम्पूर्ण परीक्षणहरू इमर्जेन्सी ल्याबबाट नै गर्न सकिने व्यवस्था पनि गरिएकोले बिरामीले परीक्षणका लागि प्रतिष्ठान बाहिर जानु नपर्ने प्रतिष्ठानले जानकारी दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्