काँग्रेसद्वारा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्नेको विवरण सङ्कलन

काठमाडौँ । नेपाली काँग्रेसले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवारी दिएका तथा त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थक बसेकाहरूलाई विधान बमोजिम पाँच वर्षका लागि स्वतः पार्टीबाट निष्कासित हुने भएकोले त्यस्ता व्यक्तिहरूको आधिकारिक विवरण केन्द्रले सङ्कलन गरिरहेको जनाएको छ ।
नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १३ (४) (ग) बमोजिम पार्टी सदस्यता समाप्त भई विधानको धारा ३४ (४) (क) बमोजिम पाँच वर्षका लागि स्वतः पार्टीबाट निष्कासित हुने व्यवस्था विधानमा रहेको छ ।
त्यसैगरी, पार्टी विधानको धारा ३४ (४) (ख) र (ग) बमोजिम पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गर्ने, अन्य पार्टीका उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्ने, पार्टीका उम्मेदवार र पार्टी हित विपरीत कार्य गर्ने पार्टी सदस्यलाई स्थानीय तहको पार्टीको उम्मेदवारको राय समेत लिई जिल्ला अनुशासन समितिले निर्वाचन अवधिभर तत्काल सदस्यताबाट निलम्बन गर्न सक्ने जनाएको छ ।
त्यस्तै पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका पक्षमा सक्रिय भई क्रियाशील रहन पार्टीका सम्पूर्ण सदस्यहरूलाई विज्ञप्ति मार्फत निर्देशन दिएको छ ।









प्रतिक्रिया राख्नुहोस्