तपाईँ सुन्दै हुनुहुन्छः

स्वीकृति नलिई पात्रो प्रकाशन गर्नेलाई स्पष्टीकरण

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्नेलाई कार्यालयमा बोलाई स्पष्टीकरण सोध्न थालेको छ ।

समितिको गठन आदेशको दफा ७ को बुँदा (ञ) र (ठ) अनुसार अनुमति नलिई प्रकाशन भएका पात्रो र भित्ते पात्रोलाई कारबाहीको तयारी स्वरूप भौतिक उपस्थितिमै स्पष्टीकरण सोध्न थालिएको हो । 

पहिलो चरणमा नेपाल पञ्चाङ्गका पञ्चाङ्गकार नारायण नेपाललाई कार्यालयमै बोलाएर समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले मौखिक रुपमा स्पष्टीकरण माग गर्नुभएको अनुगमन उपसमितिका सदस्य खिलहरि घिमिरेले राससलाई जानकारी दिनुभयो । 

नेपाललाई एक सातापछि फेरि कार्यालयमा मौखिक स्पष्टीकरणका लागि उपस्थित हुने गरी तारेखमा छाडिएको उहाँले सुनाउनुभयो । समितिको स्वीकृति नलिई प्रकाशन भएको मुक्तिनाथ पञ्चाङ्ग (पात्रो) का पञ्चाङ्गकारलाई पनि कार्यालयमै उपस्थित भएर स्पष्टीकरण माग गरिने भएको छ । मुक्तिनाथका पञ्चाङ्गकार राजधानी बाहिर रहेकाले अर्को साता स्पष्टीकरण सोधिने समितिले जनाएको छ ।

यसैगरी समितिले अनुमति नलिई प्रकाशन भएका भित्ते पात्रोको अनुगमनलाई पनि तीव्र बनाएको छ । अहिलेसम्मको अनुगमनका क्रममा चार दर्जन भित्ते पात्रो अनुमति नलिई प्रकाशन भएको पाइएको छ । 

अहिलेसम्म समितिसँग अनुमति लिएर प्रकाशन हुने भित्ते पात्रोको सङ्ख्या भने एक हजार नाघेको छ । अनुमति नलिई प्रकाशन भएका पात्रो र भित्ते पात्रोलाई कारबाही गर्न कार्यविधि बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिलाई निर्देशन दिएको छ ।

मन्त्रालयले समितिलाई कार्यविधिको मस्यौदा तयार पारी पेस गर्न निर्देशन दिएको हो । कार्यविधि स्वीकृत भएपछि अनुमति नलिई प्रकाशन भएका पात्रो र भित्ते पात्रोलाई कारबाही गरिने भएको छ । 

मन्त्रिपरिषद्ले २०७७ पुस २० गते समिति गठन आदेश स्वीकृत गरेपछि पात्रो र भित्ते पात्रोले स्वीकृति लिनुपर्ने व्यवस्था नेपाल राजपत्रमा प्रकाशन भएको थियो । 

विसं २०७८ असारमा आदेश नेपाल राजपत्रमा प्रकाशन भएपछि यो व्यवस्था यसै वर्षको पात्रो र भित्ते पात्रो प्रकाशनदेखि कार्यान्वयनमा आएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button