‘श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्छु’
काठमाडौँ । गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको नगर प्रमुख उम्मेदवार सिर्जना सिंहले श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्ने बताउनुभएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँले आयोजना गरेको ‘स्थानीय तहको निर्वाचनमा ट्रेड युनियनको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले आफू नगर प्रमुखमा निर्वाचित भएर श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्ने बताउनुभयो ।
“श्रमको सम्मान गरे मात्र देशको विकास हुन्छ, म नगर प्रमुखमा निर्वाचित भएमा श्रमको सम्मान गर्दै श्रमिकसँग सहकार्य गरेर अगाडि बढ्नेछु”, उहाँले भन्नुभयो । सिंहले काठमाडौँभित्रको फुटपाथको व्यवसायलाई व्यवस्थित गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगर प्रमुख उम्मेदवार सिंहले रात्रिकालीन समयमा महिलालाई सुरक्षित तवरले काठमाडौँभित्र हिँड्ने वातावरण निर्माणका लागि सबै वडाभित्र सिसी क्यामरा र पोल पोलमा बिजुली बत्तीको व्यवस्था गर्ने स्पष्ट पार्नुभयो । उहाँले श्रमिक महिलाका बालबालिकालाई राख्नका लागि शिशु स्याहार केन्द्रको व्यवस्था, गृहिणीका लागि विशेष भत्ताको व्यवस्था गर्ने बताउनुभयो ।
ट्रेड युनियन काँग्रेसका नेता एवम् पूर्व सांसद अच्युतराज पाण्डेले काठमाडौँको विकासका लागि यस पटक महिला उम्मेदवार सिंहलाई विजय गराउनुपर्ने बताउनुभयो । ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्र कुमार कुँवरले श्रमको सम्मान गर्न नसक्दा मुलुक पछाडि परेको भन्दै श्रमको सम्मान गर्ने पार्टी काँग्रेसको पक्षमा जनलहर सिर्जना गर्न सम्पूर्ण श्रमिकलाई आग्रह गर्नुभयो ।
नेपाल ट्रेड युनियन काँग्रेसका सह कोषाध्यक्ष सुशीला घिमिरे, नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँका अध्यक्ष देवीप्रसाद भुसाल लगायतले काठमाडौँ महानगरको प्रमुखमा महिलालाई टिकट दिएर काँग्रेसले महिलाप्रति सम्मान गरेको बताउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्