तपाईँ सुन्दै हुनुहुन्छः

मतदाताको अधिकारप्रति सचेत गराउन प्रमुख आयुक्तको आग्रह

Photo: Naresh Shrestha/ THT

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सञ्चारमाध्यम निर्वाचन आयोग, राजनीतिक दल र मतदातालाई जोड्ने बलियो पुल भएकाले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह गर्नुभएको छ ।

आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा आफ्ना सदस्य रेडियोहरूका लागि सामुदायिक रेडियो प्रसारक सङ्घले तयार गरेको आचारसंहिता जारी गर्न आयोजित कार्यक्रममा उहाँले सार्वभौम जनताले आफ्नो जनप्रतिनिधि रोजेर शासन सत्तालाई वैधता दिने विधिका रुपमा रहेको निर्वाचन र निर्वाचनका समयमा सञ्चारमाध्यम राजनीतिक सञ्चार प्रवाह गर्ने सही मञ्च भएको बताउनुभएको हो । 

प्रमुख आयुक्त थपलियाले नागरिकको प्रतिनिधि छान्न पाउने अधिकारप्रति सचेत गराउँदै कर्तव्यबोध गराउन सञ्चारमाध्यम महत्त्वपूर्ण सारथि भएकाले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता र सञ्चार क्षेत्रका आचारसंहिताको सही पालना हुने विश्वास व्यक्त गर्नुभयो । “आचारसंहिता आफैमा एक नैतिक बन्धन हो । यो स्व—नियन्त्रण र स्व—अनुगमनको औजार पनि हो । यसलाई आत्मसमीक्षाको हतियार प्रयोग गरेर कार्यान्वयन गर्न सकिन्छ । सबैले पालना गर्छु भनेर मानेको आचारसंहिता पालना हुँदैन भनेर हामी कल्पना पनि गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो, “निर्वाचनका समयमा सामाजिक सञ्जालमा असामाजिक चरित्र प्रदर्शन गर्ने र अरूको चरित्रमा प्रश्न उठाएर आत्मसम्मानमा ठेस पुर्‍याउने काम गर्नु अमानवीय हो । त्यसैले सञ्जालहरूमा मिथ्या सूचना, भ्रमपूर्ण सूचना र द्वेशपूर्ण अभिव्यक्ति नदिन हामी सबै प्रतिबद्ध होऔँ ।”

प्रमुख आयुक्त थपलियाले आचारसंहिताको पालना गरेर नेपालका सबै निर्वाचनलाई व्यवस्थित, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिन आग्रह गर्दै आचारसंहितालाई छाताको रुपमा चित्रण गर्नुभयो । उहाँले भन्नुभयो, “आचारसंहिता एउटा त्यस्तो छाता हो, जसको बिँड आयोगले समातेको छ । यहाँ छातालाई ओढाउन खोज्ने र पन्छ्याउन खोज्ने दुई पक्ष हुनुहुँदैन । त्यसो हुँदा हामी दुवै पक्ष निथ्रुक्क भिज्न सक्छौँ । त्यसैले हामीले मिलेर बनाएको आचारसंहितालाई देशव्यापी रुपमा कार्यान्वयन गर्नुको विकल्प छैन ।”

प्रमुख आयुक्त थपलियाले नेपालको लोकतन्त्र, स्वतन्त्रता, मानवअधिकार र निर्वाचनका लागि नेपाली प्रेसले वकालत गर्दै रूपान्तरणको साक्षी बनेर निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै खुल्ला र समुन्नत समाज निर्माणका लागि कलम र आवाज बोक्ने सञ्चार जगतले स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन पनि उत्तिकै भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोगका प्रवक्ता एवं सहसचिव शालीग्राम शर्मा पौडेल, पत्रकारिता क्षेत्रका अगुवा र संस्थाका प्रतिनिधि सहभागी कार्यक्रममा सङ्घले तयार गरेको निर्वाचनका समयमा रेडियो र रेडियोकर्मीले गर्न हुने र नहुने बुँदामा आधारित आचारसंहिता जारी गरिएको थियो । 

सङ्घमा ३६० रेडियो आबद्ध रहेको र ती सबैले यसको पालना गर्ने सङ्घका अध्यक्ष अर्जुन गिरीले विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button