१२ युवायुवतीहरूले प्रदेश सांसदका ज्ञान सहायक रुपमा काम गर्ने
जुम्ला । कर्णाली प्रदेशका १२ युवायुवतीहरूले प्रदेश सांसदका ज्ञान सहायक रुपमा काम गर्ने भएका छन् ।

नागरिकको आवश्यक पहिचान गरी नीति बनाउन, आवश्यक विकास गर्न, शिक्षा, स्वास्थ्य पूर्वाधार विकास र पर्यटन क्षेत्रको न्यायोचित विकासलाई अघि बढाउन सांसदलाई सहयोग गर्ने उद्देश्यले १२ जना युवाले ज्ञान सहायकका रुपमा काम गर्ने भएका हुन् । कर्णालीको आर्थिक विकास तथा खोज अनुसन्धानमा ज्ञान सहायक युवा केन्द्रित हुने छन् ।
पूर्व व्यावसायिक संसदीय सहयोग कार्यक्रमको पहिलो क्याम्पमा ५० जना सहभागी थिए । जस मध्यबाट दोस्रो क्याम्पका लागि २५ जना छनोट भएका थिए ।
छनोट भएका २५ जना युवा युवतीका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित पूर्व व्यावसायिक संसदीय सहयोग कार्यक्रमको ५ दिने दोस्रो क्याम्प सम्पन्न भएको छ ।
युवालाई कर्णालीको खोज अनुसन्धान, आर्थिक विकास, नीति निर्माण पक्रिया, विधेयक मस्यौदा, प्रक्रिया, कानुन निर्माणमा युवा सहभागिता, राजश्व परिचालन, आधारभूत सार्वजनिक नीति, कर्णालीको आर्थिक अवस्था, प्रविधि प्रयोग लगायतका विषयमा युवालाई प्रशिक्षण गराइएको ऋति फाउन्डेसन सुर्खेतका कार्यकारी निर्देशक दिनेश गौतमले बताउनुभयो ।
उहाँका अनुसार दोस्रो क्याम्पमा सहभागी २५ जना मध्येबाट तेस्रो क्याम्प अर्थात् सांसदको ज्ञान सहायक पदका लागि १२ जना छनोट हुने छन् ।
आगामी एक महिनाभित्र तेस्रो क्याम्प आयोजना गरी फाइनलमा पुगेका १२ जनालाई सांसद सहायक पदका रुपमा काम गर्न प्रदेश संसद्मा पठाइने कार्यकारी निर्देशक गौतमको भनाई छ ।
अमेरिकन एम्बेसीको सहयोग, पोखरा रिसर्च सेन्टर र ऋति फाउन्डेसनको सहकार्यमा पहिलो पटक कर्णालीमा पूर्व व्यावसायिक संसदीय सहयोग कार्यक्रमको आयोजना गरिएको हो । यसअघि पोखरा रिसर्च सेन्टरले गण्डकी प्रदेशमा पूर्व व्यावसायिक संसदीय सहयोग कार्यक्रम गरी १२ जना युवालाई ज्ञान सहायकका रुपमा संसद्मा काम गर्न पटाइसकेको छ ।
ज्ञान सहायकको सहयोगले प्रदेश सांसदहरुले गर्ने कामहरू दैनिक कार्य सम्पादन, नीति निर्माण लगायतका कुरामा सहज हुने कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती विष्टको अपेक्षा छ । युवालाई नीति निर्माणमा सहभागी गराउन तथा नमुना प्रदेश बनाउन पूर्व व्यावसायिक संसदीय सहयोग कार्यक्रम (पिपिएसपी) कोशेढुंगा बन्ने आशा गरिएको उपसभामुख घर्ती विष्टको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्