नमूना मतपत्र सच्याउने सहमतिपछि धर्ना स्थगित
जनकपुरधाम । निर्वाचन आयोगले पठाएको नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह नरहेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले गर्नुभएको धर्ना कार्यक्रम सहमतिपछि स्थगित भएको छ ।

नेपाली काँग्रेसका नगर सभापति पदबाट राजीनामा दिएर स्वतन्त्रमा उम्मेदवारी दिनुभएका साहले नमूना मतपत्रमा नाम समावेश नभएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दुई घण्टा धर्ना दिएको र आयोगले गरेको त्रुटि सच्याउने लिखित प्रतिबद्धतापछि धर्ना कार्यक्रम स्थगित भएको छ ।
निर्वाचन आयोगले आफ्नो वेभ साइटमा राखेको नमूना मतपत्रमा १२ वटा चिन्ह मात्र समावेश भएको तर साहलाई प्रदान गरिएको घण्टाघर नमूना मतपत्रमा समावेश नभएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि स्वतन्त्र उम्मेदवार साह कार्यकर्तासहित धर्नामा बस्नुभएको थियो ।

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले स्थानीय तह निर्वाचन निर्देशिका २०७८ चुनाव चिन्ह घण्टाघर भएको लिखित पत्र दिँदै साँझसम्ममा निर्वाचन आयोगको नमूना मतपत्रमा बाँकी चुनाव चिन्ह समावेश भएर आयोगको वेभ साइट अपडेट हुने जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मुख्य निर्वाचन अधिकृत मिहिलाल यादवले जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका लागि १२ राजनीतिक दल तथा २७ जना स्वतन्त्र गरी ३९ जना उम्मेदवार रहेकोमा नमूना मतपत्रमा १२ जनाको चुनाव चिन्ह मात्र भएको र बाँकीको पनि समावेश गर्नका लागि आफूहरूले आयोगसँग सहकार्य गरिरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्