तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिन गृहमन्त्रीको निर्देशन 

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठी सम्पन्न भएको छ । 

गृह मन्त्रालयमा भएको गोष्ठीमा केन्द्र, प्रदेश र जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सदस्यलाई निर्देशन दिनुहुँदै गृहमन्त्री खाणले निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो । 

उहाँले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभयो । 

“निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू निर्वाचनमा सुरक्षा दिँदा नयाँ अनुभव प्राप्त हुन्छन्”, गृहमन्त्री खाणले भन्नुभयो, “आगामी दिनमा सुरक्षा निकायले नयाँ भर्ना लिँदा मापदण्ड अनुरूप भएका भएमा उनीहरूलाई प्राथमिकतामा राख्नुहोला ।”

उहाँले निर्वाचन सम्पन्न हुने बेलासम्म देखिने सबै प्रकारका चुनौती उपलब्ध स्रोत र साधन उपयोग गरेर सामना गर्न तयारी अवस्थामा रहन समेत निर्देशन दिनुभयो ।

गृहमन्त्री खाडले सीमित स्रोत साधन उपयोग गरेर अहिलेसम्म जिल्ला जिल्लामा भएको निर्वाचनको सुरक्षा सम्बन्धमा भएको तयारी प्रशंसायोग्य रहेको पनि बताउनुभयो । 

गृह सचिव टेकनारायण पाण्डेले निर्वाचनको सुरक्षा र निष्पक्षता सरकारको मुख्य ध्येय भएकाले त्यसै अनुरूप काम गर्न निर्देशन दिनुभयो । 

उहाँले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा समितिका रहेका पदाधिकारीहरूले सीमित स्रोत र साधनलाई उपयोग गरेर कुशलता प्रदान गरी उदाहरणयोग्य काम गर्ने अपेक्षा मन्त्रालयले राखेको बताउनुभयो ।

गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव फणीन्द्रमणि पोखरेलले गोष्ठीमा निर्वाचन सुरक्षा सम्बन्धमा देखा परेका चुनौती र ती चुनौतीको समाधान कसरी गरेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । 

“मुख्य गरी निर्वाचनको सुरक्षा व्यवस्थामा देखिएका चुनौती र ती चुनौतीको समाधान कसरी गर्ने भन्ने विषयमा आज सुरक्षा गोष्ठी राखिएको हो” प्रवक्ता पोखरेलले भन्नुभयो, “जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूले गरेका काम गोष्ठीमा प्रस्तुत गर्दा एउटा जिल्लाले गरेको काम अर्को जिल्लाले नगरेको हुनु सक्छ, त्यसबाट एउटाको काम अर्कालाई सिकाइ हुने हुनाले फलदायी हुन्छ । तसर्थ भर्चुअल रूपमा गोष्ठी राखिएको हो ।”

गोष्ठीमा प्रदेशगत रूपमा एउटा प्रदेशबाट एक जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रस्तुति गर्नुभएको थियो । 

गोष्ठीमा गृह सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल, तथा गृह मन्त्रालयका सहसचिवहरू फणीन्द्रमणि पोखरेल, टेकबहादुर केसी, प्रदीप कोइराला भौतिक रूपमा सहभागी हुनुहुन्थ्यो । भर्चुअल माध्यमबाट सबै जिल्ला सुरक्षा समितिका पदाधिकारी सबै प्रदेशका तिनै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनहुन्थ्यो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button