तपाईँ सुन्दै हुनुहुन्छः

मनोनयपत्र दर्ता सम्पन्न, १५ गते अन्तिम नामावली प्रकाशन गरिने

काठमाडौँ । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि दुई दिन उम्मेदवारको मनोनयपत्र दर्ता गर्न निर्धारण गरिएको समय आज सकिएको छ ।

निर्वाचन आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै भोलि उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने जनाएको छ ।

file photo

आज दिउँसो २ बजेसम्मको विवरणअनुसार २३ हजार ५१७ मनोनयन दर्ता भएको र दर्ता भएको मनोनयनमाथि रुजु गर्ने कार्य जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

आयोगले ७७ वटै जिल्लाहरूमा निर्वाचन सामग्री पठाउने काम पुरा गरेको र भोलिदेखि मतपत्र ढुवानी सुरु हुने जनाएको छ ।

आजसम्म ६३ जिल्लाका १ करोड ५४ लाख ८३ हजार मतपत्र छपाई सकिएको छ । जसमा निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगले जनाएको हो ।

यसैगरी स्थानीय तह सदस्य निर्वाचनका लागि ६८ वटा संस्थाले आयोगबाट पर्यवेक्षणका लागि अनुमति लिइसकेको र ती संस्थाबाट करिब २० हजार भन्दा बढी पर्यवेक्षक खटिने गरी आयोगमा प्रस्ताव प्राप्त भएको समेत प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले आचारसंहिता विपरीत हुने कुनै पनि काम नगर्न विभिन्न राजनीतिक दलहरूलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button