तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा उम्मेदवार टुङ्गो लाग्न नसक्दा ठुला दलहरूद्वारा भोलि मात्र उम्मेदवारी दर्ता

वीरगंज । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा लगायतका ठुला राजनीतिक दलहरूले अझै उम्मेदवार टुङ्गो लगाउन नसक्दा पर्सामा भोलि मात्रै ठुला दलहरूको उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको भए पनि ठुला दलमा आकाङ्क्षीहरू बढी हुँदा अझै उम्मेदवारको टुङ्गो लाग्न नसकेका कारण दलहरूले सोमबार मात्रै मनोनयन दर्ता गर्न लागेका हुन् । 

हाल पर्सामा कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा समाजवादी, राप्रपा, लगायतका दलहरूले १४ वटै पालिकाको उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । 

पर्सामा नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टीले मनोनयन दर्ताका लागि सोमबारको समय माग गरेको निर्वाचन कार्यालय पर्साकी प्रमुख जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिनुभयो । 

उहाँका अनुसार कुनैपनि दलले आइतबारका लागि समय नलिएको झाले बताउनुभयो । नेपाली काँग्रेसले सोमबार दिउँसो २ बजे, नेकपा एमालेले अपराह्न ३ बजे र लोसपाले अपराह्न साढे ३ बजेका लागि समय माग गरेको छ । 

जनता समाजवादी पार्टीले पनि सोमबार मनोनयन दर्ता गराउने तयारी गरिरहेको छ । वीरगञ्जसहित पर्साका अधिकांश पालिकामा नेपाली कांग्रेस सहितका दलहरूले भोलि मनोनयन दर्ता गराउने नेपाली कांग्रेस पर्साका सभापति जनार्धन सिंह क्षेत्रीले जानकारी दिनुभयो । 

राजनीतिक दल तथा इच्छुक योग्य नेपाली नागरिकले आ–आफ्नो पालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गर्न सक्ने जिल्ला निर्वाचन अधिकारी झाले बताउनुभयो । 

वीरगञ्ज महानगरपालिकाको लागि जिल्ला समन्वय समितिको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने अन्य स्थानीय तहहरूमा नगर तथा गाउँपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पर्सामा निर्वाचनका लागि ६ वटा राष्ट्रिय दलसहित ३३ वटा दल दर्ता भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button