रेडियो नेपालकर्मी अधिकारी सम्मानित

चितवन । भरतपुर महानगरपालिका–५ स्थित नारायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत महोत्सवको अवसरमा पत्रकार सूर्यप्रसाद अधिकारी सम्मानित हुनुभएको छ ।
चितवन कार्यक्षेत्र बनाई विगत लामो समयदेखि आर्थिक विषयमा स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम मार्फत निरन्तर कलम चलाई आर्थिक पत्रकारितामा योगदान पुर्याएको भन्दै रेडियो नेपालकर्मी चितवन संवाददाता अधिकारीलाई सम्मान गरिएको हो ।
समारोहका प्रमुख अतिथि बाग्मती प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेल, संस्थाका अध्यक्ष केशव बहादुर पौडेल, उपाध्यक्ष पुष्पराज भट्टले संयुक्त रुपमा सम्मानपत्र तथा नगद दुई हजार पाँच रुपैंया सहित सम्मान गर्नु भएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले रजत महोत्सवको अवसरमा बृहद सरसफाई, शेयर सदस्य बीच मैत्रीपूर्ण खेलकुद कार्यक्रम, माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, निःशुल्क स्वास्थ्य शिविर एवं खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त अवसरमा संस्थाका संस्थापक , पूर्व सञ्चालक , ज्येष्ठ शेयर सदस्य ,अतिरिक्त क्रियाकलापका विजेता लगायतलाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट कार्यसम्पादन गरे बापत संस्थाले सहसचिव हरिकृष्ण अधिकारीलाई पनि सम्मानित गरेको थियो ।
संस्थाको शेयर सदस्य सङ्ख्या २१९२ रहेका छन् भने शेयर पूंँजी १४ लाख ३८ हजार रहेको छ । संस्थाको एक कट्ठा क्षेत्रफलमा आफ्नै भवनबाट सेवा सञ्चालन गरिरहेको छ । संस्थाको कुल कर्जा लगानी ११ करोड ७७ लाख २४ हजार ४७५ गरेको छ भने कुल बचत ११ करोड १७ लाख ४२ हजार ५२० रुपैंया रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्