तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा स्थानीय तहको निर्वाचन सुरक्षाको लागि सेना परिचालन

कञ्चनपुर  । कञ्चनपुरमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि नेपाली सेना सदरमुकाम महेन्द्रनगरबाहिर खटाउन सुरु गरिएको छ ।

निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउनुका साथै निर्वाचनका बेला हुनसक्ने आपराधिक गतिविधि रोक्न नेपाली सेनालाई परिचालन गरिएको हो । 

कञ्चनपुरको  दोधारा चाँदनी नगरपालिका र दक्षिण क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकामा सैनिक अधिकृतको नेतृत्वमा नेपाली सेना परिचालन भएको छ ।

यहाँस्थित श्रीदल गुल्मका गुल्मपति सेनानी भीष्म केसीले निर्वाचन सुरक्षाका लागि तोकिएको निर्देशनअनुसार सेना परिचालन सबै पालिकासम्म गरिने जानकारी दिनुभयो ।

यहाँका सबै पालिकालाई भ्याउने गरी निर्वाचनलाई लक्षित गरी सेनाको गस्ती र उपस्थिति रहने गुल्मपति सेनानी केसीले बताउनुभयो । त्यसका लागि स्थानीय प्रशासनसित आवश्यक समन्वयअनुसार सेना निर्वाचन सुरक्षामा खटिन्छ ।

त्यस्तै, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको संयोजकत्वमा रहेको जिल्ला सुरक्षा समितिले पनि जिल्लाभरको निर्वाचन शान्ति सुरक्षाका लागि आवश्यक सक्रियता बढाइसकेको छ । यहाँका सबै सुरक्षा निकायले मतदान केन्द्रको निरीक्षण गरिसकेका छन् । 

स्थानीय प्रशासनले ६६ वटा मतदान स्थललाई अति संवेदनशील, २६ लाई संवेदनशील र ४० वटा मतदान केन्द्रलाई सामान्यमा राखेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रमुख प्रहरी निरीक्षक श्यामसिंह चौधरीले मतदाता, मतदान केन्द्र, मतपेटिकालगायत निर्वाचनको सबै क्षेत्र र तहको सुरक्षाका लागि नेपाल प्रहरी तयारी हालतमा रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button