स्वास्थ्य मन्त्री खतिवडा र डब्लुएचओका महानिर्देशक डा.टेड्रोसबीच भेटवार्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससबीच शिष्टाचार भेटवार्ता भएको छ ।
स्वास्थ्य मन्त्रालयमा उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा स्वास्थ्य मन्त्री खतिवडाले नेपालले जनस्वास्थ्य क्षेत्रमा केही ठोस उपलब्धि हासिल गर्न सफल भएको बताउनुभयो ।
उहाँले मातृ तथा बाल मृत्यु न्यूनीकरणमा प्राप्त भएको उपलब्धि उल्लेखनीय रहेको बताउनुभयो । ट्रकोमा निवारण तथा कालाजार उन्मूलनका लागि नेपालले चालेका निर्णायक कदमका सम्बन्धमा डब्लुएचओको सहयोग सराहनीय रहेको उहाँको भनाइ रहेको थियो ।
सरकारले सन् २०३० सम्ममा राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यमध्येको लक्ष्य नं ३ ‘जनताको सुस्वास्थ्य र तन्दुरुस्ती’सम्बन्धी प्रतिबद्धता पूरा गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो ।
“कोभिड–१९ को महामारीमा विश्वभरका मानिसको जीवन बचाउनका लागि यहाँको नेतृत्वदायी भूमिका, निर्णय र कार्यको कदर गर्दछौँ । यो योगदानलाई विश्वले सधैँ सम्झिरहनेछ”, उहाँले भन्नुभयो, “जनस्वास्थ्य चुनौतीको सामना गर्न डब्लुएचओले आफ्नो स्थापनाकालदेखि नै सम्पूर्ण विश्वका लागि सहयोगी साझेदार रहिआएको छ । बिफरको उन्मूलन, इबोला खोपको विकास जस्ता थुप्रै जनस्वास्थ्य उपलब्धि हासिल गर्न डब्लुएचओले अग्रणी भूमिका खेलेको छ ।”
मन्त्री खतिवडाले कोभिड–१९ महामारीले मानव जीवनका सबै पक्षमा गम्भीर असर पारेको उल्लेख गर्दै स्वास्थ्य प्रणाली र अर्थतन्त्रका क्षेत्रमा परेको दुष्प्रभाव र त्यसबाट उत्पन्न हुने दुष्परिणामका अलावा हाम्रा अगाडि अरू धेरै चुनौती रहेको बताउनुभयो ।
उहाँले स्वास्थ्य सङ्कटको सामना गर्न र राष्ट्रिय, क्षेत्रीय एवं विश्वस्तरमा आपसी सहयोग एवं सहकार्यलाई बढवा दिनका निम्ति डब्लुएचओको भूमिका अझै सुदृढ बनाइनुपर्ने आवश्यकता सबैलाई महसुस भएको भनाइ राख्नुभयो ।
उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा थालिएको जीन सिक्वेन्सिङ संस्थाको स्थापना र सञ्चालन गर्न प्राविधिक सहायता उपलब्ध गराएकामा डब्लुएचओप्रति आभार व्यक्त गर्नुभयो ।
मन्त्री खतिवडाले कोभिड–१९ विरुद्धको खोप पुर्याउन डब्लुएचओले हामीलाई निरन्तर सहयोग प्रदान गरिरहेको उल्लेख गर्दै सन् २०२२ को मध्यसम्ममा ७० प्रतिशतमा पूर्ण खोप पुर्याउने विश्व स्वास्थ्य सङ्गठनको लक्ष्य हासिल गर्ने पथमा नेपाल रहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालमा सहकार्य केन्द्र स्थापना गर्नका लागि डब्लुएचओको साथ र सहयोग आवश्यक देखिएकाले यसको सुरुआत बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना गर्न डब्लुएचओका महानिर्देशकसँग अनुरोध गर्नुभयो ।
हेटौँडास्थित किटजन्य रोगको अध्ययन तथा तालिम केन्द्रलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० क्षेत्रीय तालिम र अनुसन्धान केन्द्रका रूपमा विकास गर्न उहाँले आग्रह गर्नुभयो ।
भेटवार्तामा महानिर्देशक टेड्रोस बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना गर्न सहकार्य गर्नेबारे बताउनुभएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिनुभयो ।
सचिव पोखरेलका अनुसार किटजन्य रोगको अध्ययन तथा तालिम केन्द्रलाई स्तरोन्नतिमा सहयोग गर्नेसमेत उहाँले बताउनुभयो । महानिर्देशक टेड्रोसले कोभिड–१९ नियन्त्रण तथा रोकथाममा नेपाल सरकारले गरेको कामको उच्च प्रशंसा व्यक्त गर्दै धन्यवाद दिनुभयो ।
सचिव पोखरेलले डब्लुएचओको दोस्रो कार्यकालका लागि महानिर्देशक डा.टेड्रोसलाई नै समर्थन गर्ने बताउनुभयो । भेटघाटमा मन्त्रालय र डब्लुएचओका उच्च अधिकारीको सहभागिता रहेको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्