तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले महानगर र उपमहानगरका उम्मेदवारबारे शनिबार निर्णय गर्ने

भक्तपुर । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे वैशाख १० गते शनिबार निर्णय गर्ने भएको छ । 

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।

बैठक पछि एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सचिवालय बैठकमा सात वटै प्रदेश कमिटीले गरेको सिफारिसबारे छलफल भएको र अर्को बैठक शनिबार दिउँसो ३ बजे बालकोटमै बस्ने र उम्मेदवारको टुङ्गो लगाउने बताउनुभयो ।

बैठकले भोलि नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने र भोलि नै तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा केन्द्रीय कार्यालयको उद्घाटन गर्ने निर्णय गरेको गुरुङले बताउनुभयो ।

भोलि नै स्थानीय निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने निर्णय एमाले सचिवालय बैठकले गरेको छ ।

नेकपा एमालेको सचिवालय बैठकले गण्डकी र लुम्बिनी प्रदेश सभाका सदस्यलाई पालिकाको नेतृत्वको लागि टिकट नदिने निर्णय गरेको छ ।

प्रचार विभाग प्रमुख गुरुङले त्यहाँ सरकार परिवर्तन हुनसक्ने सम्भावना रहेको र त्यसलाई ध्यानमा राखेर यस्तो निर्णय भएको बताउनुभयो ।

उहाँले यी दुई प्रदेशमा एमालेको एकल बहुमत पुग्नलाई केही सांसद मात्रै कमी हुने अवस्था रहेको र सत्ता गठबन्धनमा फाटो आएमा एमालेको सरकार बन्न सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button