चुनाव लड्न भूमि आयोगका अध्यक्षद्वारा पदबाट राजीनामा

ओखलढुङ्गा । भूमि आयोग ओखलढुङ्गाका अध्यक्ष अशोक कार्कीले पदबाट राजीनामा दिनुभएको छ । स्थानीय निर्वाचनमा लिखु गाउँपालिका अध्यक्षमा चुनावी प्रतिस्पर्धा गर्ने तयारी गर्दै भूमि आयोगबाट राजीनामा दिनुभएको हो ।
नेपाली काँग्रेसका प्रभावशाली मानिने नेता कार्की केही समय अघि भूमि आयोगको अध्यक्ष नियुक्त हुनुभएको थियो ।
आयोगको काममा आफु जागिर खाएर बस्दा पार्टी सङ्गठन निर्माण र चुनाव परिचालन कमजोर भएकाले पदबाट राजीनामा दिएको कार्कीले बताउनुभयो । आफु स्थानीय निर्वाचनको दाबेदार रहेको बताउँदै स्थानीय निर्वाचनमा गठबन्धन बीच तालमेल भए आगामी संघ र प्रादेशिक निर्वाचनको समेत तयारी गर्ने निचोडले भूमि आयोगबाट राजीनामा दिएको उहाँको भनाई छ ।
‘म पार्टीको नेता हुँ, जागिर मात्रै खाएर बस्न मन लागेन त्यही भएर राजीनामा दिएँ ।’ उहाँले भन्नुभयो, ‘टिकट पाए स्थानीय चुनाव लिखुबाट लड्छु नपाए संघ र प्रदेशका चुनाव हुँदैछन् त्यसको तयारीमा लाग्छु ।’ कार्कीले बिहीबार आयोगको कार्यालयमा पुगेर राजीनामा बुझाउनुभएको छ ।
कार्की २०७४ को स्थानीय निर्वाचनमा लिखु गाउँपालिकामा काँग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । नेकपा एमालेका गोविन्दबहादुर पौडेलसँग उहाँ पराजित हुनुभएको थियो ।
कार्की जिल्लामा माओवादी र काँग्रेसको चुनावी तालमेल भएपछि पालिका अध्यक्ष जित्ने आशामा राजीनामा दिन पुग्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्