अछाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित दश वटै पालिकामा कार्यालय स्थापना

अछाम । अछामको दश वटै पालिकामा बिहीबार एकै पटक निर्वाचन कार्यालय स्थापना भएका छन् । जिल्ला सदरमुकाम मङ्गलसेनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित मङ्गलसेन नगरपालिकाका लागि र अन्य ९ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका जिल्ला निर्वाचन अधिकारी कृष्ण सिंह नायकले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकाममा जिल्ला अदालतमा रहने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना गरियो ।
मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी, प्रहरी नायब उपरीक्षक रविराज थपलिया, निर्वाचन अधिकारी कृष्णसिंह नायक लगायतको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको आवश्यक तयारीका कामहरू अगाडि बढाउन कार्यालय स्थापना गरिएका हुन् । अछामको पञ्चदेवल विनायक नगरपालिकामा लक्ष्मी प्रसाद बास्कोटा, कमलबजारमा चुडाराज सापकोटा, चौरपाटीमा पदमराज जोशी, ढकारीमा गणेश बहादुर सिंह र तुर्माखाँदमा भेषराज पौडेल निर्वाचन अधिकृत रहनु भएको छ।
यसैगरी बान्नीगढी जयगढमा हरिष पन्त, मेल्लेखमा राजु कुँवर, रामारोशनमा राम बहादुर केसी तथा साँफेबगरमा याम नारायण गौली निर्वाचन अधिकृत खटिनु भएको छ । निर्वाचन अधिकृतको कार्यालय सँगै कार्यालयमा खटिने कर्मचारीलाई समेत जिम्मेवारी तोकिएको छ ।
निर्वाचनका विषयमा छलफल गर्न शुक्रवार पालिकास्थित सबै राजनैतिक दल र सरोकारवालाको बैठक बोलाइ निर्वाचन आचारसंहिता, अन्य तयारीका विषयमा निर्णय गरिने पञ्चदेवल विनायक नगरपालिकाका निर्वाचन अधिकृत बास्कोटाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्